इटहरी। भारत–नेपाल सीमामा लागूऔषध तस्करी गर्नेहरूले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् ।
झापाको भद्रपुरस्थित मेची पुलमा एकै दिन दुई जना व्यक्तिले मलद्वारभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गर्दा प्रहरीको फन्दामा परेका छन् । पहिलो घटनामा स्कुटी चालक चन्द्रप्रसाद राजवंशी र दोस्रो घटनामा पैदल यात्री रोहित कुमाल पक्राउ परेका हुन् । दुवैको शरीरभित्र प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
आइतबार उनीहरुले मलद्वारमा हालेर लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउनुभयो । सीमावर्ती क्षेत्रमा कडाइ बढ्दै गएपछि तस्करहरूले शरीरभित्र लागूऔषध लुकाएर ओसारपसार गर्ने जोखिमपूर्ण उपाय अपनाउन थालेको देखिन्छ ।
प्रहरीले यस्ता घटनाले लागूऔषध कारोबारको बदलिँदो स्वरूप उजागर गरेको भन्दै सीमामा निगरानी थप कडा बनाइएको जनाएको छ ।


