इटहरी । धरान उपमहानगरपालिकामा सडक निर्माणमा जनसहभागिताको अभ्यास बलियो बन्दै गएको छ ।

नगर गौरवका ठूला आयोजना बाहेक अधिकांश भित्री सडक स्थानीयवासीको आर्थिक तथा श्रम योगदानबाट निर्माण भइरहेका छन् । कतिपय सडकमा स्थानीयले ६० प्रतिशतसम्म लागत व्यहोरेका छन । कार्यवाहक नगरप्रमुख आइन्द्रविक्रम बेघाका अनुसार धरानका सडक निर्माणमा स्थानीयको १० देखि ६० प्रतिशतसम्म योगदान रहेको छ । उहाँले आफूले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेयता ८ हजार २५० मिटर सडक निर्माण सम्पन्न भएको र थप सडक निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

धरानमा जनसहभागिता मार्फत विकास आयोजना सञ्चालन गर्ने अभ्यास भने २०५४ सालदेखि सुरु भएको हो । तत्कालीन नगर नेतृत्वले स्थानीयको न्यूनतम ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत लगानी रहने नीति लागू गरेपछि सडक, नाला तथा अन्य साना पूर्वाधार निर्माणमा नागरिकको सहभागिता संस्थागत भएको थियो । तत्कालीन नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले सीमित स्रोत–साधनका कारण जनसहभागितालाई विकासको आधार बनाउनुपरेको बताउनुभयो । उहाँका अनुसार नागरिकको साथबिना त्यसबेला विकास आयोजना सञ्चालन गर्न कठिन थियो ।

धरानमा पछील्लो समय जनसहभागिताले नयाँ रूप लिएको छ । २०७९ सालमा हर्कराज राई ९साम्पाङ० नगरप्रमुख निर्वाचित भएपछि श्रमदान अभियानलाई विकास निर्माणको प्रमुख माध्यमका रूपमा अघि बढाउनुभएको थियो । त्यसअन्तर्गत सबैभन्दा चर्चित आयोजना कोकाहा खानेपानी योजना रहेको थियो । कोकाहा खानेपानी आयोजना, सेउती खोलाको जुवाने दोभानमा निर्माणाधीन पुल तथा धरान–१३ स्थित श्रम संस्कृति पार्क जनसहभागिताका उल्लेखनीय उदाहरण बनेका छ । जुवाने दोभान पुल निर्माणमा दुई हजार ३०० भन्दा बढी स्थानीयले श्रमदान गरेका छन् भने नगरपालिकाले आवश्यक निर्माण सामग्री र उपकरण उपलब्ध गराएको प्रोजेक्ट म्यानेजर धन बहादुर राईले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि जनसहभागितामा आधारित योजना कार्यान्वयन र उपभोक्ता समितिमार्फत आयोजना सञ्चालन गर्ने कानुनी व्यवस्था गरेको छ । यद्यपि पूर्वाधार निर्माणको मुख्य जिम्मेवारी स्थानीय सरकारकै हुने व्यवस्था रहे पनि धरानमा नागरिक स्वयं विकासका साझेदार बनेका छन् । धरानमा जनसहभागितामूलक विकासको यो अभ्यासले सीमित स्रोतका बीच पनि स्थानीय तह र नागरिकबीचको सहकार्यबाट पूर्वाधार विकासलाई गति दिन सकिने उदाहरण प्रस्तुत गरेको छ । कार्यवाहक नगरप्रमुख बेघाले नागरिकको लगानी र श्रमले विकासप्रति अपनत्व र संरक्षणको भावना बढाउने बताउनुभयो ।