इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, डाँडाखर्कस्थित लालीगुराँस दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले ३ हजार लिटर क्षमताको दुग्ध चिस्यान (चिलिङ भ्याट) मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ ।
लालीगुराँस नगरपालिका, प्रदेश सरकार र सहकारी संस्थाको साझेदारीमा खरिद गरिएको उक्त चिलिङ भ्याट मेसिनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख माबोहाङले दुग्ध उत्पादन तथा बजारीकरणलाई व्यवस्थित बनाउन चिस्यान केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय कृषकलाई व्यावसायिक पशुपालन तर्फ थप प्रोत्साहन गर्दै उत्पादन वृद्धि र आम्दानी बढाउन नगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
सहकारी संस्थाका सचिव डम्बर दाहालका अनुसार हाल संस्था मार्फत दैनिक करिब १ हजार ६ सय लिटर दूध संकलन भइरहेको छ । चिलिङ भ्याट सञ्चालनमा आएपछि दूधको गुणस्तर संरक्षण, भण्डारण क्षमता वृद्धि तथा बजार व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । हाल सहकारी संस्थामा १८३ जना शेयर सदस्य आबद्ध रहेका छन् ।
दूध संकलन तथा चिस्यान केन्द्र सञ्चालनका लागि आवश्यक एकतले भवन लालीगुराँस नगरपालिकाले करिब ३५ लाख रुपैयाँको लागतमा निर्माण गरेको हो । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख जमुना मगर कार्की, वडा नं. १ का अध्यक्ष दानबहादुर खड्का, जनप्रतिनिधि, कृषक, सहकारीका पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।


