इटहरी । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ग्रामीण क्षेत्रका कच्ची सडकमा अधिक भार क्षमताका ढुवानी साधन सञ्चालनमा रोक लगाएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वर्षाका बेला सडक क्षतिग्रस्त भई एम्बुलेन्स, उद्धार तथा अन्य साना सवारीसमेत सञ्चालन गर्न कठिनाइ उत्पन्न हुन थालेपछि यस्तो निर्णय गरेको जनाएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णयअनुसार असार १० गतेदेखि गाउँपालिकाको मुख्य सडकअन्तर्गत गुम्बाडाँडा–पात्लेभञ्ज्याङ, मायालुमोड–घुबिसे–पञ्चमी, उत्तरे–मेहेलबोटे, पुरानो पञ्चमी–बरडाँडा–गेलीभञ्ज्याङ कृषि सडकबाहेकका अन्य सडकमा अर्को निर्णय नभएसम्म ढुङ्गा, गिट्टी, बालुवा लगायतका सामग्री ओसारपसार गर्ने ट्र्याक्टर, ट्रक तथा ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो ।

गाउँपालिकाले विपत्का बेला राहत, उद्धार र अत्यावश्यक सेवामा प्रयोग हुने सवारीको आवागमन सहज बनाउन तथा ग्रामीण सडकको संरक्षणका लागि उक्त निर्णय कार्यान्वयनमा ल्याइएको फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताउनुभयो । ग्रामीण सडक जोगाउनुका साथै मर्मतमा लाग्ने खर्च बचत गर्न निर्णयको पालना गर्न सम्बन्धित सबै सरोकारवालालाई गाउँपालिकाले अनुरोध गरेको छ ।