इटहरी । निर्माण व्यवसायीसँग ठेक्का पारिदिने भन्दै आर्थिक लाभ लिएको, सवारीसाधन कब्जामा लिएको तथा जग्गा राजीनामा पास गराएको आरोपमा विराटनगरका अभिषेक गिरीमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार निर्माण व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि गिरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। जाहेरीअनुसार गिरीले विभिन्न व्यक्तिसँग पहुँच रहेको भन्दै आयोजना सम्बन्धी ठेक्का पारिदिने विश्वास दिलाएका थिए। उनले आफ्नो आर।सी। सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा।लि।मार्फत ठेक्काको काम नियमानुसार सम्पन्न गरिदिने आश्वासन दिए पनि काम नगरेको र त्यसका कारण ठेक्का सम्झौता रद्द भई जाहेरवालालाई आर्थिक नोक्सानी पुगेको आरोप छ।

त्यसैगरी, निर्माणमा प्रयोग हुने सवारीसाधन कब्जामा लिई केही कवाडीमा बिक्री गरेको, अन्य सवारीसाधन फिर्ता नदिएको तथा डर–त्रास देखाएर काठमाडौंस्थित घरजग्गा राजिनामा पास गराएको दाबी जाहेरीमा गरिएको छ। प्रहरीले जाहेरवालाले अन्य व्यक्तिबाट प्राप्त गर्नुपर्ने रकमसमेत आफ्नो नाममा चेक काट्न दबाब दिएको र त्यसबाट प्रतिवादीले आर्थिक लाभ लिएको आरोप अनुसन्धानको विषय बनेको जनाएको छ।

काठमाडौं जिल्ला अदालतले असार २२ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएपछि मोरङ विराटनगर महानगरपालिका–८ मधुमारा निवासी ४८ वर्षीय गिरीलाई पक्राउ गरिएको हो। प्रहरीले उनीमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ।