इटहरी । जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत एक नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पतालमा विवाद गरेका छन्।
प्रहरीका अनुसार मेरिङदेन गाउँपालिका–५ थुकिम निवासी निमा तेम्बा शेर्पाकी श्रीमती २७ वर्षीया मिना दोमी शेर्पा प्रसूति व्यथापछि असार २२ गते राति १२ः४५ बजे जिल्ला अस्पताल ताप्लेजुङमा भर्ना भएकी थिइन्। सोही दिन राति १ः०३ बजे उनको सामान्य ९नर्मल० प्रसूति भएको थियो र छोरीको जन्म भएको थियो।
जन्मपछि अस्पतालमै उपचार तथा निगरानीमा रहेकी नवजात शिशुको असार २४ गते बिहान ३ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। नवजात शिशुको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको आरोप लगाउँदै मृतकका करिब ८ देखि १० जना आफन्त अस्पतालमा भेला भई विरोध तथा विवादमा उत्रिएका थिए।
घटनाको जानकारी बिहान ८ बजे प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायब निरीक्षक पदम लिम्बुको कमाण्डमा १० सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले हाल अस्पतालको अवस्था सामान्य रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


