इटहरी। प्रहरीले सुनसरीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका चार लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले कोशी गाउँपालिका–८, भोक्राहा नरसिंह गाउँपालिका–६, देवानगञ्ज गाउँपालिका–२ र इनरुवा नगरपालिका–९ बाट लत्ताकपडा, किराना सामान तथा एउटा मोटरसाइकलसहितका अवैध सामान बरामद गरेको हो। प्रहरीका अनुसार कोशी गाउँपालिका–८ बाट दुई लाख ३७ हजार ६९४ रुपैयाँ बराबरका लत्ताकपडा र किराना सामान बरामद गरिएको छ।
भोक्राहा नरसिंह गाउँपालिका–६ बाट ६३ हजार ७२० रुपैयाँ बराबरका किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ। देवानगञ्ज गाउँपालिका–२ बाट एक लाख ५४ हजार रुपैयाँ बराबरको मोटरसाइकल र किराना सामान नियन्त्रणमा लिइएको छ। इनरुवा नगरपालिका–९ बाट सात हजार ५०० रुपैयाँ बराबरका किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


