इटहरी । उदयपुरको बेलका नगरपालिका वडा –९ स्थित रामपुर नगरअस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाइँका अनुसार नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षका मिलन राईको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो। 

करेन्ट लागेर करिब ४ मिटरमाथिबाट जमिनमा खसेर गम्भीर घाइते हुनुभएका राईलाई तत्काल रामपुर नगरअस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिए पनि अस्पतालका चिकित्सकले उपचारको क्रममा मृत्यु भएको घोषणा गर्नुभयो । उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले थप अध्ययन भइरहेको जनाएको छ ।