इटहरी । इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२र८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् ।
सङ्घीय सरकारको एक करोड २० लाखको लागतमा छ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालय भवन २० लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएका हुन् ।
यस वर्ष माङसेबुङ–१ स्थित वरभन्ज्याङ आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय, माङसेबुङ–२ स्थित इभाङ आधारभूत विद्यालय, माङसेबुङ–३ स्थित जनकल्याण आधारभूत विद्यलाय, माङसेबुङ–४ स्थित सरस्वती आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित चन्द्रेश्वरी आधारभूत विद्यालयमा नयाँ भवन निर्माण भएका हुन् ।
भवन निर्माण भएपछि विद्यार्थीले सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइको वातावरण पाएको वरभन्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर लिम्बूले बताउनुभयो । भवन निर्माणपछि बाँसको टाटीले बारेर पढाउनुपर्ने बाध्यता हटेको इभाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक पम्फादेवी पुलामीले बताउनुभयो । त्यसैगरी कोशी प्रदेश सरकारको रु सात लाखको लागतमा माङसेबुङ–४ स्थित सरस्वती आधारभूत विद्यालयमा चार कोठे आधुनिक शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणसँगै विद्यालयको सरसफाइ तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा सहयोग पुगेको प्रधानाध्यापक दाताराम खनालले बताउनुभयो ।
लिम्बू भाषा सरकारी कामकाजको भाषा लागु गरेको माङसेबुङ गाउँपालिकाले यस वर्षदेखि तीन वटा आधारभूत विद्यालयमा लिम्बू भाषा शिक्षक र तीन वटा विद्यालयमा वान्तवा भाषा शिक्षकको दरबन्दी व्यवस्था गरेको छ । मातृभाषा शिक्षाका लागि सम्बन्धित जातीय बाहुल्यता रहेको विद्यायमा माङसेबुङ गाउँपालिकाले आन्तरिक स्रोतबाट तलबभत्ता खुवाउने गरी लिम्बू र वान्तवा मातृभाषा शिक्षकको दरबन्दी सृजना गरी मातृभाषा शिक्षाकको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख खतिवडाले जानकारी दिनुभयो । लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङ–१ स्थित गजुरमुखी र मण्डिका आधारभूत विद्यालय एवम् माङसेबुङ–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा लिम्बू भाषा शिक्षकको व्यवस्था गरेको छ । त्यस्तै राई जातिको बाहुल्यता रहेको माङसेबुङ–२ स्थित सरस्वती र माङसेबुङ–४ को जनता र माङसेबुङ–६ स्थित सिंहेश्वरी आधारभूत विद्यालयमा वान्तवा भाषा शिक्षकको व्यवस्था गरेको छ ।
नेपालको संविधानको भाग ३ धारा ३१ मा शिक्षाको हकअन्तर्गत उपधारा ५ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न पाउने हकको व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम माङसेबुङले मातृभाषा शिक्षामा समेत जोड दिएको जनाएको छ । माङसेबुङले यसअघि नै आभारभूत तह कक्षा १–५० सम्म लिम्बू भाषा पाठ्यक्रम निर्माण गरी चार वटा विद्यालयमा पठनपाठन गर्दै आएको छ । माङसेबुले लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङ–३ स्थित पवित्रा आधारभूत विद्यालय एवं माङसेबुङ–५ को साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पठनपाठन गर्दै आएको थियो । त्यस्तै यसअघि माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा वान्तवा भाषा पठनपाठन हुँदै आएको थियो । माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय कक्षा १–१२ तीनवटा, माध्यमिक विद्यालय कक्षा १–१० सात वटा, आधारभूत विद्यालय ९कक्षा १–८ १६ वटा र आधारभूत विद्यालय कक्षा १–५ चार वटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा ९कक्षा १–१० दुई र आधारभूत विद्यालय कक्षा–८ का दुई वटा विद्यालय छन् ।
यस्तै, माङसेबुङले प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्न ११ वटा विद्यालयमा स्मार्ट टिभीसमेत वितरण गरेको गाउँपालिकाले जनाएको छ । स्मार्ट टिभीमार्फत डिजिटल सामग्री प्रयोग गरी शिक्षण सिकाइ थप प्रभावकारी बनाउन सहज भएको माङसेबुङ–२ स्थित इभाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक नविन बस्नेतले बताउनुभयो । माङसेबुङ गाउँपालिकाले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, मातृभाषा शिक्षाको प्रवर्धन, सूचना प्रविधिको प्रयोग, शिक्षकको क्षमता विकास तथा अतिरिक्त क्रियाकलापलाई सन्तुलित रूपमा अघि बढाउँदै लगिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।


