इटहरी । मोरङको बुढीगंगा गाउँपालिकालाई दुग्ध उत्पादनको प्रमुख केन्द्र बनाउने उद्देश्यका साथ स्थानीय सरकारले कृषि र पशुपालन क्षेत्रमा लगानी बढाउन थालेको छ।
गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा मार्फत ५० प्रतिशत लागत साझेदारीमा दूध प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको हो। यसै कार्यक्रमअन्तर्गत वडा नम्बर ६ मा रहेको सुकचर कृषि फर्मलाई २० लाख रुपैयाँ लागतको परियोजनामा गाउँपालिकाले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकमबाट फर्मले दूधलाई करिब एक सातासम्म सुरक्षित राख्न सकिने अत्याधुनिक मिल्क चिलिङ प्रणाली, दही बनाउने मेसिन, दूध उमाल्ने मेसिनका साथै दूध संकलन र ढुवानीका लागि इलेक्ट्रिक भेइकल खरिद गरेको छ। यी अत्याधुनिक उपकरणले स्थानीय स्तरमै दूधको प्रशोधन, सुरक्षित भण्डारण र बजारीकरणलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले कृषकको आयआर्जन वृद्धि, आर्थिक सशक्तीकरण तथा व्यावसायिक पशुपालन प्रवद्र्धनका लागि निरन्तर कृषि तथा पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उपलब्ध गराइएको अनुदानको सही सदुपयोग गरी उत्पादन वृद्धि, गुणस्तर सुधार र कृषकलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न स्थानीय नेतृत्वले जोड दिएको छ ।
बुढीगंगाको आर्थिक समृद्धिको मुख्य आधार नै कृषि र पशुपालन भएकाले यस क्षेत्रमा गाउँपालिकाले निरन्तर लगानी बढाउँदै लगेको छ। अनुदान वितरणमा मात्र सीमित नभई उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउने नीति गाउँपालिकाले लिएको छ, जसले गर्दा स्थानीय कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउन सक्नेछन्।
पालिकाले यसअघि पनि फलफूलका बिरुवा, उन्नत धानको बीउ र कृषि यान्त्रिकीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिसकेको छ। यो दूध प्रवद्र्धन कार्यक्रमले स्थानीय दुग्ध उत्पादनको गुणस्तर सुधार र सहज बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै बुढीगंगालाई दुग्ध उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न उल्लेखनीय टेवा पुग्ने विश्वास लिइएको छ ।

