इटहरी । रेडिमेड व्यवसायी संघ इटहरीले उद्योगी–व्यवसायीबीच आपसी सहकार्य, समन्वय तथा व्यवसायिक समस्या र समाधानका विषयमा छलफल गर्ने उद्देश्यले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष दामोधर रिमालले गर्नुभएको थियो। कार्यक्रममा इटहरीका रेडिमेड व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी व्यवसायीहरूले पछिल्लो समय व्यापार क्षेत्रमा देखिएको मन्दी, अनलाइन व्यापार सँगको प्रतिस्पर्धा, बजार व्यवस्थापन, कर नीति, व्यवसायीको सुरक्षा, पार्किङ समस्या, बैंकको ब्याजदर तथा साना व्यवसायीले भोगिरहेका विविध चुनौतीबारे खुलेर आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गायत्री कटुवाल भण्डारीले व्यवसायीको वास्तविक समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उद्योग वाणिज्य संघ सबै व्यवसायीको साझा संस्था भएकाले साना, मझौला र ठूला सबै व्यवसायीको हकहितको संरक्षण गर्दै उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पु¥याउने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष दामोधर रिमालले व्यवसायीहरूबीच एकता, सहकार्य र नियमित संवाद आवश्यक रहेको उल्लेख गर्दै यस्ता अन्तरक्रिया कार्यक्रमले व्यवसायीका साझा मुद्दा पहिचान गर्न र समाधानको बाटो खोज्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा सहभागी व्यवसायीहरूले उद्योग वाणिज्य संघ व्यवसायीको अधिकार, सम्मान र हितको पक्षमा अझ प्रभावकारी रूपमा सक्रिय हुनुपर्ने धारणा राख्दै आगामी नेतृत्वले व्यवसायमैत्री वातावरण निर्माण, व्यवसायीको समस्या समाधान तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।