इटहरी। मोरङको लेटाङ–वारङ्गी सडक अन्तर्गत गुवाबारी–भुवाखोला खण्डको सडक निर्माण सम्पन्न नगरी कम्पनीले भाग्ने प्रयास गरेको भन्दै स्थानीय उपभोक्ताले टिप्परलगायतका निर्माणमा प्रयोग भएका उपकरणको चाबी नियन्त्रणमा लिएका छन् ।
यो सडक कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मोरङले भ्याटसहित ९८ लाख ८३ हजार ४४९।०७ रुपियाँमा ठेक्का लगाएको हो । २०८२ साल फागुन २६ गते ठेक्का लगाएको सडक २०८३ असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो तर निर्माणको ठेक्का लिएको प्रतिभा कन्स्ट्रक्सनले सुरुदेखि नै काममा चरम लापर्बाही गरेको स्थानीयको आरोप छ ।
असार मसान्त आउन साता दिनभन्दा कम समय छ तर निर्माण कम्पनीले आधा पनि काम गरिसकेको छैन । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख खरानन्द इसरका अनुसार कम्पनीले हालसम्म ४२ प्रतिशत काम गरी ३२ प्रतिशत भुक्तानी लगेको छ । उहाँले ढिलो काम सुरु गरेकाले समयमा निर्माण सम्पन्न नभएको जानकारी दिनुभयो । अब म्याद थपेर काम सम्पन्न गर्ने प्रव्रिmया सुरु हुन्छ । सोही कार्यालयका फिल्ड इन्जिनियर सत्यनारायण साहले काम ढिलो थालेको, काम थाल्नासाथ इन्धनको मूल्यवृद्धि भएको र असार सुरुदेखि पानी परेकाले पहाडी क्षेत्रमा काम गर्न समस्या भएको बताउनुभयो ।
लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले सङ्घ र प्रदेश सरकारले ठेक्का लगाएका कुनै पनि योजनाका बारेमा स्थानीय तहसँग समन्वय नभइरहेको बताउनुभयो । स्थानीय सरकारलाई बलियो बनाउनु पर्छ भन्ने तर समन्वय नगर्ने हो भने अधुरा र अपूरा योजना अझ बढ्ने नगरप्रमुख लावती बताउनुहुन्छ । निर्माण कम्पनी प्रतिभा कन्स्ट्रक्सनका प्रतिनिधि शङ्कर गौतमले लगातारको पानीले प्लाई भिजेर काम नदिने अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले म्याद थप भए तीन महिनामा काम सम्पन्न गर्ने जानकारी दिनुभयो । स्थानीय विष्णु लिम्बूले निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा विद्यालय जान आउन समस्या भएको बताउनुभयो । वर्षायाम सुरु भएपछि काम थालेकाले समस्या भएको उहाँको भनाइ छ । निर्माण कम्पनीले सात सय मिटर सडक कटिङ, ७४३ घनमिटर ड्रेन निर्माण र दुई किलोमिटर सडक ग्राभेल गर्न ठेक्का लिएको हो ।


