इटहरी। अविरल वर्षासँगै गएको पहिरोका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ऐतिहासिक बराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार दिउँसो चतरा–बराहक्षेत्र भित्री सडकखण्डको बराहक्षेत्र नगरपालिका–१ स्थित सत्र नम्बर क्षेत्रमा सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बराहक्षेत्र मन्दिरतर्फ हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै उक्त सडकखण्ड भएर यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन भएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो।


