इटहरी। धनकुटाको तल्लो भेगका किसान खडेरीसँगै फौजी किराको दोहोरो मारमा परेका छन्। पर्याप्त वर्षा नहुँदा सुक्न थालेको मकैबालीमा फौजी किराको प्रकोप बढेपछि ठुलो क्षति भएको छ।
जिल्लाको प्रमुख खाद्यान्न बालीमध्ये मकै पहिलो स्थानमा रहेको छ। यही बालीमा दोहोरो समस्या देखिएपछि किसान चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार यस वर्ष जिल्लामा करिब १२ प्रतिशत मकैबाली नष्ट भएको छ। धनकुटामा कुल १३ हजार ४७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेकोमा करिब एक हजार ६०० हेक्टर क्षेत्रफलको बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्लाको उच्च भेगमा खडेरी र फौजी किराको प्रभाव कम भए पनि तल्लो भेगमा समस्या बढी देखिएको छ। विशेषगरी पाख्रिबास नगरपालिका र महालक्ष्मी नगरपालिकामा फौजी किराको प्रकोप तीव्र छ। पाख्रिबास नगरपालिका–५ दियाले क्षेत्रका किसान अम्बरबहादुर तामाङले फौजी किरा र खडेरीका कारण आफ्नो १८ रोपनीमा लगाएको मकैबाली पूर्ण रूपमा नष्ट भएको बताउनुभयो।
कृषि प्राविधिकका अनुसार फौजी किरा मकैको गुभोभित्र पसेर कलिला पात खाने गर्छ। यसले पात नष्ट गरेपछि बिरुवा नै सुक्ने वा मर्ने अवस्था आउँछ। त्यसैगरी, दाना लाग्ने समयमा परेको चर्को घामले पनि बालीमा थप क्षति पु¥याएको छ। मेहनत गरेर लगाएको मकैबालीमा फौजी किराको आक्रमण भएपछि किसान खाद्य अभावको चिन्तामा परेका छन्। लामो खडेरीसँग जुधिरहेका किसानलाई फौजी किराले थप समस्यामा पारेको छ।
स्थानीय देवेन्द्र निरौलाका अनुसार धनकुटाका किसानले हरेक वर्ष खडेरी र फौजी किराको आक्रमण मात्र नभई जंगली जनावरको आतंक पनि सहनुपरेको छ। धनकुटामा १३ हजार ४७० हेक्टर क्षेत्रफलमा लगाइएको मकैबाट वार्षिक ३८ हजार ३८६ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।


