इटहरी । मध्यपहाडी लोकमार्ग अन्तर्गत बसन्तपुर–तेह्रथुम सडक खण्डको कालीखोला नजिक निर्माणाधीन ढुंगाको मेसिनरी पर्खालमा कमसल निर्माण सामग्री प्रयोग गरिएको आरोप लागेपछि स्थानीयले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएका छन् ।
रोधस्वरूप स्थानीयले पर्खालमा राखिएका ढुंगा पल्टाएर निर्माणको वास्तविक अवस्था सार्वजनिक गरेका हुन् । सडक डिभिजन कार्यालय धनकुटाको ३ करोड ४२ लाख रुपैयाँ लागतको आपतकालीन सडक मर्मत योजना अन्तर्गत काठमाडौंस्थित रुरु कन्ट्रक्सन प्रालिले उक्त पर्खाल निर्माण गरिरहेको छ। स्थानीयका अनुसार निर्माणमा गुणस्तरहीन ढुंगा प्रयोग गरिएको, कतिपय स्थानमा सिमेन्ट–बालुवा पर्याप्त प्रयोग नगरिएको तथा प्रयोग गरिएका स्थानमा समेत मापदण्ड अनुसार मिश्रण नगरिएको पाइएको छ । लालीगुराँस नगरपालिका–७ का वडाध्यक्ष देवेन्द्र खड्काले सडक भासिएको अति संवेदनशील क्षेत्रमा गुणस्तरहीन निर्माण अस्वीकार्य भएको बताउँदै प्राविधिक मापदण्ड विपरीत काम भएकाले स्थानीयले विरोध जनाएको जानकारी दिनुभयो ।
स्थानीय मोहन कार्कीले निर्माण सम्पन्न नहुँदै पर्खाल कमजोर देखिएकाले भविष्यमा ठूलो क्षति हुन सक्ने चिन्तासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउन ढुंगा पल्टाएर विरोध गरिएको बताउनुभयो । यता सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर रमेश गोइतले निर्माण कम्पनीको लापरवाही देखिएकाले तत्काल काम रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे प्राविधिक टोलीबाट थप अनुगमन गरी आवश्यक कारबाही अघि बढाइनेछ । गत वैशाख २० गते ठेक्का सम्झौता भएको उक्त योजना सुरुमा असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण कम्पनीले समयमै काम पूरा गर्न नसकेपछि आगामी पुस मसान्तसम्म म्याद थप गरिएको छ । स्थानीयवासीले भने सार्वजनिक बजेटबाट सञ्चालित विकास आयोजनामा गुणस्तरमा कुनै सम्झौता नगर्न, प्रभावकारी अनुगमन गर्न र दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।


