इटहरी । पाँचथरको फालेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ को असार २६ गतेसम्म विनियोजित बजेटको ८७।५१ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाले शनिबार प्रेस विज्ञप्तिमार्फत खर्च विवरण सार्वजनिक गरेको हो।
गाउँपालिकाको आर्थिक प्रशासन शाखाले सार्वजनिक गरेको वित्तीय प्रगति विवरण अनुसार चालुतर्फ ३९ करोड ७७ लाख ९४ हजार ५९१ रुपियाँ विनियोजन भएकोमा ३५ करोड ९७ लाख ६६ हजार ४६० रुपियाँ ३४ पैसा खर्च भएको छ। यो चालु बजेटको ९०।४४ प्रतिशत हो। त्यसैगरी, पुँजीगततर्फ १५ करोड ६ लाख ६१ हजार १११ रुपियाँ विनियोजन भएकोमा १२ करोड १ लाख ९७ हजार ८६१ रुपियाँ खर्च भएको छ। पुँजीगत खर्च ७९।८५ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ।
विवरण अनुसार चालु र पुँजीगत गरी कुल ५४ करोड ८४ लाख ५५ हजार ७०१ रुपियाँ विनियोजन भएकोमा असार २६ गतेसम्म ४७ करोड ९९ लाख ६४ हजार ३२१ रुपियाँ ३४ पैसा खर्च भएको छ। यो कुल बजेटको ८७।५१ प्रतिशत हो। सरकारले स्थानीय तहलाई चालु आर्थिक वर्षका लागि असार २५ गते मध्यरातसम्म कारोबार गर्ने समयसीमा तोकेको थियो। प्रमुख प्रशासकीय अधिकृत सुमन यङया र लेखा अधिकृत दीपेन्द्र चेम्जोङले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त तथ्याङ्क उल्लेख छ। फालेलुङ गाउँपालिकाले यस वर्षको खर्च प्रगतिलाई सन्तोषजनक रूपमा लिएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो।


