इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४९ करोड १० लाख ६६ हजार २ सय ६० रुपैयाँ बराबरको बजेट नगरसभाबाट पारित गरेको छ ।

बजेटमा नेपाल सरकार र कोशी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सशर्त, समपूरक र विशेष अनुदानलाई मुख्य आयस्रोतका रूपमा समावेश गरिएको छ । व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १० करोड रुपैयाँ तथा नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४ करोड ८९ लाख २५ हजार २ सय ६० रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सडक बोर्ड साझेदारी, खानेपानी आयोजना, कोल्ड स्टोरेज निर्माण, पदमार्गमा आधारित पर्यटन प्रवद्र्धन, रोजगार कार्यक्रम, अपाङ्गता रोकथाम तथा पुनःस्थापना लगायतका विकास तथा सामाजिक कार्यक्रमका लागि पनि बजेट छुट्याइएको छ।

साथै, प्रत्येक वडामा विकास निर्माणका कार्यलाई निरन्तरता दिन वडागत बजेटको समेत व्यवस्था गरिएको नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिनुभयो । नगर प्रमुख माबोहाङका अनुसार कृषि उत्पादन वृद्धि, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको हो। सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै नगरवासीको जीवनस्तर उकास्ने लक्ष्य बजेटले लिएको उहाँको भनाइ छ । यसैबीच नगरसभाकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पाँच जना कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत रविन कार्कीलाई १ लाख रुपैयाँ, लेखा अधिकृत जेनी राईलाई ५० हजार रुपैयाँ, सूचना प्रविधि अधिकृत संजय दाहाललाई ३० हजार रुपैयाँ, सहायक कम्प्युटर अपरेटर रमेश खड्का र असिस्टेन्ट सब–इन्जिनियर पदम भुजेललाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले सम्मान कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।