इटहरी । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, गछियाबजार शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार गछिया युवा समाजलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

युवाको प्रतिभा विकास र स्वस्थ समाज निर्माणका लागि ८ वटा फुटबल सहित एगिलिटी ल्याडर, विप्स, स्पीड हर्डस लगायतका प्रशिक्षण सामग्री प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व देवराज तामाङले खेलकुदले युवाहरूलाई अनुशासित बनाउने चर्चा गर्दै वित्तीय संस्थाको यो सहकार्य उदाहरणीय भएको बताउनुभयो । संस्थाका कोशी प्रदेश प्रमुख बेद प्रसाद देवकोटाले वित्तीय सेवा प्रवाहसँगै सामाजिक क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै, गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले यस सहयोगले युवाहरूलाई कुलतबाट टाढा राख्दै खेलकुदमा लाग्न थप हौसला मिल्ने भन्दै आभार व्यक्त गर्नुभयो । सुन्दरहरैंचा–३ मा आयोजित उक्त कार्यक्रममा डिप्रोक्स लघुवित्तका कोशी प्रदेश अनुसन्धान अधिकृत सूर्यबहादुर बिष्ट र शाखा प्रबन्धक सुजन सेर्माको उपस्थिति थियो। कार्यक्रममा गछिया युवा समाजका सल्लाहकारहरू प्रलाद थोप्रा लिम्बु र सुमन याक्खा सहित समाजका पदाधिकारी, सदस्य तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस सहयोगले स्थानीय खेल संस्कृतिको प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।