इटहरी । भोजपुरको अरुण गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी भेटघाट कार्यक्रम’ पछिल्लो समय निकै प्रभावकारी बन्दै गएको छ।

स्थानीय सरकार घरदैलोमै पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य एवं पोषणको ख्याल राख्न थालेपछि गाउँबासीहरू उत्साहित भएका छन् । यसै क्रममा गाउँपालिकाले वडा नम्बर ६, जरायोटारको पाल्पामा एक विशेष कार्यक्रमका बीच १९ जना नवजात शिशुका आमाहरूलाई भेटघाट गरी सहयोग वितरण गरको छ । कार्यक्रम अन्तर्गत गाउँपालिकाले बच्चाको मुख हेर्न नगद ५ सय रुपैयाँ र सुत्केरी आमालाई पोषणयुक्त खानेकुराका लागि थप २ हजार रुपैयाँ गरी प्रति व्यक्ति २५ सय रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आएको छ ।

सुत्केरी अवस्थामा आमा र बच्चा दुवैको स्वास्थ्य संवेदनशील हुने भएकाले गाउँपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । गाउँपालिकाको यो कदमले ग्रामीण क्षेत्रका महिलाहरूमा स्वास्थ्य संस्थामा गई सुरक्षित सुत्केरी गराउने चेतना बढेको छ। साथै सुत्केरी अवस्थामा पोषणयुक्त खानपानमा ध्यान दिन यसले ठूलो मद्दत पु¥याएको स्थानीयको बुझाइ छ । घरदैलोमै स्थानीय सरकार पुगेर स्वास्थ्यको ख्याल राख्नुका साथै आर्थिक सहयोग समेत उपलब्ध गराउन थालेपछि अरुण गाउँपालिकाबासी महिलाहरू निकै खुसी भएका छन् ।