इटहरी  । सिमेन्ट उत्पादनका लागि खानी भण्डार रहेको उदयपुरको रौतामाई क्षेत्रमा फलाम खानी र सिसा उत्पादनका लागि अवश्यक पर्ने क्वार्ज ढुङ्गाको समेत खानी रहेको अनुमान गरिएको छ ।

सरकारी निकायबाट यस सम्बन्धमा कुनै पनि अध्ययन अनुसन्धान हुन नसक्दा उत्खननको काम हुन सकेको छैन । दुर्गम र पहाडी भौगोलिक धरातलको बनावट भएको रौतामाई गाउँपालिका–४, नामन्ताक्षेत्रमा सिसा उत्पादनका लागि आवश्यक पर्ने क्वार्ज ढुङ्गाको ठुलो परिमाणको खानी भण्डार सुरक्षित रहेको स्थानीय बासिन्दा एवं रौतामाई गाउँपालिकाका पूर्वअध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।  पूर्वअध्यक्ष खड्काका अनुसार रौतामाई–३ को लाफागाउँ, वडा नं। ६ को निगाले, वडा नं। ५ को खाँनीडाँडा र वडा नं। ७ को छिन्ताङ फेदीक्षेत्रको अलग अलग स्थानमा फलाम खानी भए पनि सम्बन्धित सरकारी निकायबाट यसको विस्तृत अध्ययन अन्वेषण हुन सकेको छैन । जिल्लामा रहेका अन्य खानीको प्रचारप्रसारसमेत हुन नसक्दा सबै ओझेलमा पर्दै आएको पूर्वअध्यक्ष खड्काले बताउनुभयो । वडा नं। ३ को पाकना, वडा नं। १ को टाट्ने, वडा नं ८ को यामुङटार, वडा नं। ६ को रसुवा, कुर्कुसे, वडा नं। ७ को डुम्रिथुम्का धारापानी र वडा नं। ६ को लयाङ भिरको क्वार्ज खानीक्षेत्रको पनि सम्बन्धित निकायको बेवास्ताका कारण हालसम्म कुनै अध्ययन अनुसन्धान हुन सकेको छैन । 

यस सम्बन्धमा खानी तथा भूगर्भ विभागका वरिष्ठ उपसचिव तथा सूचना अधिकारी नारायण बाँस्कोटासँग सम्पर्क गर्दा उहाँले उदयपुरमा विभिन्न चार वटा सिमेन्ट खानी मात्र दर्ता भएर उत्खनन भइरहेको तर अन्य वस्तुका खानीका विषयमा हालसम्म कुनै अध्ययन अनुसन्धान नभएको र आगामी वर्षका लागि पनि यस्तो कार्यव्रmम नरहेको बताउनुभयो । नेपालमा हाइड्रोका ठुला लगानीकर्तामध्ये एक रहेको बिग ग्रुपले उदयपुरको त्रियुगा नगरपालिकासँग सीमा जोडिएको सप्तरीको सुरुङ्गा नगरपालिका–३, पदमनगरमा करिब ४५ बिघा जग्गाको क्षेत्रफलमा निजी औद्योगिक ग्राम निर्माण गरेर उदयपुरको रौतामाईक्षेत्रमा रहेका कच्चा पदार्थबाट  फलाम र सिसासहित फरक फरक वस्तुका छुट्टाछ्ट्टै सात वटा उद्योग स्थापना गर्ने तयारी गरेको छ । उक्त गु्रपका अध्यक्ष वीरेन्द्र न्यौपानेको मुख्य लगानीमा पदम नगरमा निर्मित बिग इन्डस नामको उक्त औद्योगिक ग्राममा सिसा, फलामलगायत दड्रम, पेन्टस, बिटुमिन, लुब्रिकेन्ट र टायर आयलसमेतको उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बडाइरहेको न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार करिब छ अर्बको लगानीमा पहिलो चरणमा आगामी एक वर्षभित्र फलाम र सिसाको उत्पादन गरिने लक्ष्य रहेको छ । हाल कारखानाको भवन निर्माण भइरहेको र त्यसपछि विभिन्न मेसिन उपकरण जडानको काम गरिने उहाँले बताउनुभयो । न्यौपानेका अनुसार उदयपुरको रौतामाई गाउँपालिकाको लाफामा फलाम खानी र सिसा उत्पादनका लागि लयाङ्ग भिरको क्षेत्रमा रहेको क्वार्ज ढुङ्गा खानी उत्खनन गर्न दर्ता प्रव्रिmया अगाडि बढाइसकिएको र यी दुवै खानीमा रहेको कच्चा पदार्थ उच्च गुणस्तरको रहेको पाइएको छ ।