इटहरी । कोशी प्रदेशमा सन् २०२६ को ६ महिनाको अवधिमा ३ सय ३१ जना मानव अधिकार उल्लंघनका घटनामा पीडित भएको पाइएको छ । 

मानव अधिकार एलाइन्सको २७ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रम सो तथ्यांक सार्वजनिक गरिएको हो । मावन अधिकार एलाइन्स कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा मानव अधिकारको अवस्था विषयक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा पोख्रेलले महिला अधिकार सम्बन्धी ६१ वटा, बाल अधिकार सम्बन्धी १ सय ११ वटा र नागरिक अधिकार सम्बन्धी १ सय ५९ वटा मानवअधिकार उल्लंघनका घटना भएको जानकारी दिनुभयो।

देशभरमा १६ हजार ९ सय ५६ जनाको क्षमता रहेका कारागार रहेकोमा २५ हजार ९२ जना कैदी बन्दी रहेको कार्यक्रममा जानकारी दिइयो । यस्तै देशभरका कारागारबाट ३ हजार ८ सय ३ जना कैदीबन्दी फरार रहेको तथ्यांक रहेको छ । सन २०२५ मा कोशी प्रदेशमा मा १ हजार ४ सय ८९ जना पीडित भएका छन् । कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले मानव अधिकार उल्लघनका घटना कम गराउन कार्यक्रममा सहभागी सबैको भूमिका उत्तिकै रहने बताउनु भयो। उहाँले जानी वा नजानी गरेको घटनामा सबैलाई बराबर कानुन लाग्ने भएकाले सबैले कानुनको बारेमा जानकारी राख्नुपर्ने बताउनु भयो।