इटहरी । कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका ११ सय ५७ वडा, १३७ पालिका र १४ वटा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो ।

कार्यक्रममा संघिय स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चित प्रदेशको प्रमाणपत्र प्रदान गर्नुभएको थियो  । सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई जनताको आवश्यकता पूरा गर्ने माध्यम बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । 

कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित गर्न प्रत्येक वडामा खोज र खोप अभियान संचालन गरिएको र यसक्रममा ११० जना बालबालिका कुनै पनि खोप नलगाएको भेटिएको र ३ हजार ५ सय ९६ जना खोप ड्रप आउट गर्ने बालबालिका भेटिएको जानकारी दिइएको थियो । बाल मृत्यु दर घटाउन सरकारले जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुलाई १३ प्रकारका निशुल्क खोप दिदै आएको छ ।