इटहरी । विवाहित महिलाहरूको प्रतिभा प्रस्फुटन, सशक्तीकरण र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको पहिलो अडिसन इटहरीमा सम्पन्न भएको छ । 

ओपन स्पेस प्रालिको आयोजनामा असार २८ गते आइतबार संगीत चोकस्थित फूडसाला क्याफेमा फिजिकल अडिसन सम्पन्न भएको हो । प्रतियोगिताका लागि ५० जनाले अनलाइन फारम भरेकोमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १२ जना महिलाहरू फिजिकल अडिसनमा सहभागी थिए । अडिसनको निर्णायकमा कोरियोग्राफर सुभेच्छा कार्की, दोस्रो सिजनकी विजेता मेघा खड्का, थर्ड रनरअप सीता पुरी र रईशा चौधरी हुनुहुन्थ्यो ।

२० देखि ५० वर्ष उमेर समूहका विवाहित महिलाहरू सहभागी हुन पाउने यस प्रतियोगिताको दोस्रो अडिसन आगामी साउन ३ गते इटहरीमै र त्यसपछि धरानमा हुने कार्यक्रम निर्देशक सरोज श्रेष्ठले जानकारी दिनुभयो । आयोजक संस्थाकी सीईओ सजिना श्रेष्ठका अनुसार यसपटक फोटोसुट र विविध गतिविधि मार्फत सहभागीहरूलाई आत्मनिर्भर र उद्यमी बन्न अभिप्रेरित गरिनेछ । कोरियोग्राफर सुभेच्छा कार्कीले विशेष प्रशिक्षण दिने यस प्रतियोगिताको शीर्ष विजेताले १ लाख रुपैयाँ बराबरको पुरस्कार र आकर्षक उपहारहरू प्राप्त गर्नेछन् ।