इटहरी। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा भकारो सुधार कार्यक्रम सञ्चालन गर्दै किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले गाईबस्तुको मलमूत्रमा रहेको खाद्यतत्त्व संरक्षण गर्दै गुणस्तरीय प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउने भएको हो । उक्त अनुदानबाट प्राङ्गारिक खेती प्रवर्द्धन हुनुका साथै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम ९डम्बर० ले बताउनुभयो । उहाँका अनुसार अनुदान अन्तरगत किसानले गोठ तथा भकारो सुधार, काउम्याट खरिद, गहुँत सङ्कलन प्रणाली व्यवस्थापनलगायतका कार्यमा अनुदान प्राप्त गर्न सक्नेछन् ।

अनुदान लिन पशुका लागि पानी र गहुँत नचुहिने गरी गोठ निर्माण गरिएको, गहुँत सङ्कलन ट्याङ्कीको व्यवस्था भएको तथा भकारोको मलखाद राख्ने खाडललाई घाम र वर्षाबाट जोगाउन छानो बनाइएको हुनुपर्नेछ । यस्तै, लाभग्राहीसँग कम्तीमा एक माउ गाई वा भैंसी, १० माउ बाख्रा वा पाँच माउ बङ्गुर हुनुपर्ने छ । यस कार्यक्रमले किसानलाई आधुनिक तथा व्यवस्थित पशुपालनतर्फ आकर्षित गर्नुका साथै प्राङ्गारिक खेतीको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।