इटहरी । झापाको कनकाई नगरपालिका–३ मा नौ वर्षीय बालकको कानबाट सुनको कुण्डल लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६ बजे कनकाई–३ निवासी जयराम श्रेष्ठका नौ वर्षीय छोरा प्रजन श्रेष्ठ घरनजिक खेलिरहेका बेला दुई जना अपरिचितले फकाएर उनले लगाएको दुई आनी बराबरको सुनको कुण्डल ९दुई थान० लुटेर फरार भएका थिए।घटनापछि बालकका बुवा जयराम श्रेष्ठले असार २५ गते इलाका प्रहरी कार्यालय सुरुङ्गामा लिखित उजुरी दिएका थिए। उजुरीपछि प्रहरी निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनास्थल आसपासका सिसिटिभी फुटेज विश्लेषण गर्दा सुन लुट्ने कार्यमा कनकाई नगरपालिका–५ बेनुवाजा टोलकी ३६ वर्षीया बिमला पाँचकोटी र उनका बहिनी–ज्वाइँ शिवसताक्षी नगरपालिका–९ निवासी ३० वर्षीय ‘बिजु’ भन्ने विजय दर्जी संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले असार २५ गते राति करिब ११ः३० बजे बिमला पाँचकोटीलाई उनकै घरबाट पक्राउ गरेको थियो। तर, उनको साथबाट लुटिएको सुनको कुण्डल बरामद हुन सकेन। घटनापछि फरार रहेका विजय दर्जीलाई प्रहरीले असार २७ गते बिहान करिब ८ः३० बजे कनकाई नगरपालिका–३ स्थित कृषि बजार क्षेत्रबाट पक्राउ गरेको छ। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


