इटहरी । कोशी प्रदेशको भू–उपयोग नीति तर्जुमा तथा भूमि व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदामाथि सरोकारवालासँग सुझाव संकलन सुरु भएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनकुटाका तेह्रथुम संखुवासभा तथा भोजपुरका जिल्ला समन्वय प्रमुख तथा स्थानिय तहका जनप्रतिनिधि बिच छलफल भएको हो । कार्यक्रममा कोशी प्रदेशको भू–उपयोग नीति र भूमि व्यवस्थापन सम्बन्धी प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै सहभागीबाट सुझाव मागिएको थियो ।

सहभागीहरूले कृषि योग्य जमिनको संरक्षण, अव्यवस्थित बसोबासको व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, भू–उपयोगको स्पष्ट वर्गीकरण, स्थानीय तहको भूमिका, जग्गा प्रशासनलाई सरल तथा प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले तल्लोतह वाट आएका कुरालाई समेटेर जारी गरीएको काननु मात्र प्रभाबकारी हुने भएकाले सबै स्थानियतहको सहभागीता हुने गरी छलफल चलाइएको जानकारी दिनुभयो । 

वक्ताहरूले प्रदेशको आवश्यकता र स्थानीय यथार्थलाई सम्बोधन गर्ने गरी नीति तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । आयोजकका अनुसार प्राप्त सुझावलाई समेटेर भू–उपयोग नीति र भूमि व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदालाई थप परिमार्जन गरिने मन्त्रालयले जनाएको छ ।