इटहरी  । जिल्ला सदरमुकाम गाईघाटस्थित निर्माणाधीन त्रियुगा बसपार्क निर्माणमा भएको ढिलासुस्तीले यात्रु सास्ती खेप्न बाध्य हुँदै आएका छन् ।

झन्डै पाँच वर्ष पहिले नै सम्पन्न गरी सञ्चालनमा ल्याइसक्नुपर्ने बसपार्कको निर्माण ठेकेदार कम्पनीको चरम लापर्बाहीले अहिलेसम्म अलपत्र हुँदै आएको हो । बढ्दो सहरीकरणसँगै हुने जनसङ्ख्याको उच्च चापलाई लक्षित गरी सहज रूपमा सवारी सुविधा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेशकै नमुना बसपार्कका रूपमा विकास गर्ने भनी २०७६ सालमै सम्झौता गरेर निर्माण सुरु गरेको कम्पनीले लापर्बाही गरेपछि गाईघाटमा निर्माणाधीन अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको काम बर्सौंदेखि अलपत्र हुँदै आएको छ । त्रियुगा नगरपालिका–१२, हातीमारास्थित त्रियुगा नदीको उत्तरी किनारामा अवस्थित हालको बसपार्क भएकै स्थानमा अत्याधुनिक सुविधा भएको नयाँ बसपार्क निर्माणका लागि गरिएको ठेक्का सम्झौता अनुसार आजभन्दा पाँच वर्ष पहिले नै सम्पूर्ण काम सकेर सञ्चालनमा आउनुपर्नेमा निर्माण कम्पनी रमण आइएस एमडी जेभीका ठेकेदारले काममा व्यापक ढिलासुस्ती र आर्थिक अनियमितता गरेपछि त्रियुगा बसपार्क निर्माणको काम ठप्प भएको हो । 

त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतका अनुसार पाँच वर्ष पहिले नै नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा बसपार्क निर्माण गर्न सुरु गरिएको थियो । २०७८ साल पुस २९ गतेभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०७६ साल असारमा सम्झौता गरेको हो । त्रियुगा सभ्यता र विकास कार्यक्रम सफल पार्न आधुनिक शैलीमा बनाउन थालिएको त्रियुगा बसपार्क निर्माणका लागि त्रियुगा पुलनजिकैको शान्तिधामभन्दा पश्चिमतर्फको करिब पाँच बिघा जग्गा निःशुल्क उपलब्ध गराउनुका साथै नेपाल सरकारसँग यसका लागि चाहिने बजेट व्यावस्थापन गर्न नगरपालिकाका तर्फबाट कुनै कसर बाँकी नराखेको भए पनि ठेकेदारको लापर्बाहीले बसपार्क बन्न नसकेको नगरप्रमुख बस्नेतले बताउनुभयो । 

नगरप्रमुख बस्नेतले निर्माणका क्रममा आइपर्ने अनेकौँ बाधा अड्काउ फुकाउन र आवश्यकता अनुसारको स्थानीय स्रोतसाधन उपलब्ध गराएर त्रियुगा बसपार्क निर्माणमा नगरपालिकाको समेत योगदान पु(याउन आपूm यसमा लागिपर्ने भन्दै नगरप्रमुख बस्नेतले त्रियुगा नगरपालिकाको स्वरूप नै उज्यालो हुने गरी यो बसपार्कको डिजाइन गरिएको बताउनुभयो । जिल्लाको सदरमुकामसमेत रहेको गाईघाट बजारमा व्यवस्थित बसपार्कको अभावमा व्यावसायीले कहिले सडकमा त कहिले त्रियुगा नदीको बगरमा पार्किङ गर्दै आएकोमा सुविधासम्पन्न बसपार्क निर्माणको काम अहिलेसम्म पूरा हुन नसकेको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । आयोजना प्रमुख साहका अनुसार टर्मिनल भवन, घण्टाघर, यात्रु प्रतीक्षालय, मर्मतसम्हार केन्द्र, चमेना गृह, सार्वजनिक शौचालय र सपिङ कम्प्लेक्ससहितको त्रियुगा बसपार्क सम्भवतः कोशी प्रदेशकै सबैभन्दा उत्कृष्ट र नमुना बसपार्क हो तर रमण आइएस एसबी विल्डर्स जनकपुरको निर्माण कम्पनीले हालसम्म पनि निर्माण सम्पन्न नगरेकाले निजलाई अब विभागमै बोलाएर छलफल गरी आवश्यक निर्णय गरिने बताउनुभयो ।

महेन्द्र राजमार्गसँग जोड्ने कदमाहा–गाईघाट सडक, गाईघाट–दिक्तेल सडक र धरान–चतारा–गाईघाट–कटारी हुँदै हेटौँडा जोड्ने मदन भण्डारी राजमार्गले पूर्वपश्चिम र उत्तर दक्षिण चारै दिशाले गाईघाटलाई एकैठाउँमा जोडेको हुँदा पनि यहाँ त्यस किसिमको आधुनिक बसपार्क निर्माण हुनु सुनमा सुगन्ध भए जस्तै उत्तम काम भएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण बसपार्कको निर्माण नहुनु र सर्वसाधारणले सास्ती खेपिरहनु धेरै ठुलो चिन्ताको विषय बनेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।