इटहरी । विश्वकप फुटबल हेर्न उठाउँदा बेहोस अवस्थामा भेटिएका खोटाङ कारागारका २४ वर्षीय एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा साकेला गाउँपालिका–४ मात्तिमका २४ वर्षीय निशान राई रहेका छन्। उनी खोटाङ कारागारमा कैद सजाय भोगिरहेका थिए। कारागार प्रशासनका अनुसार मंगलबार राति खाना खाएर सुतेका राईलाई राति करिब १२ः४५ बजे सुरु हुने विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि उनका साथीहरूले उठाउने प्रयास गरेका थिए। तर उठाउँदा उनी बेहोस अवस्थामा भेटिएका थिए।

त्यसपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक रूपमा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदन आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।