इटहरी । इटहरी उपमहानगरपालिका–७ का वडा सदस्य तथा युवा जनप्रतिनिधि दीपक घिमिरेले हरियाली टोलस्थित मुसहर बस्तीमा बसोबास गर्दै आएका कुष्ठरोगबाट प्रभावित बिन्देश्वर सदाको परिवारलाई खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ ।
आर्थिक अभाव र स्वास्थ्य समस्याका कारण कठिन जीवन बिताइरहेको परिवारलाई तत्काल राहत पु¥याउने उद्देश्यले चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको हो। निर्वाचित जनप्रतिनिधिका रूपमा प्राप्त हुने सेवा–सुविधाको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्दै आउनुभएका घिमिरेले यसअघि पनि असहाय, विपन्न, बिरामी तथा समस्यामा परेका नागरिकलाई आवश्यकता अनुसार साथ दिँदै आउनुभएको छ ।
खाद्यान्न हस्तान्तरणका क्रममा उहाँले समाजका कमजोर तथा जोखिममा रहेका नागरिकको संरक्षण गर्नु स्थानीय सरकार, जनप्रतिनिधि र समुदाय सबैको साझा दायित्व भएको बताउनुभयो। स्थानीयवासीले घिमिरेको पहलको प्रशंसा गर्दै स्वास्थ्य र आर्थिक समस्यासँग जुधिरहेका परिवारको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय तह तथा सरोकारवाला निकायले थप ध्यान दिनुपर्ने बताएका छन्। पद र अधिकार भन्दा माथि उठेर जनताको पीडामा साथ दिने संस्कारले जनप्रतिनिधि प्रति नागरिकको विश्वास बढाउने उनीहरूको भनाइ छ ।
घिमिरेको यस कार्यले विपन्न तथा सीमान्तकृत समुदाय प्रति संवेदनशील बन्न समाजका अन्य व्यक्तिलाई समेत सकारात्मक सन्देश दिएको छ ।


