इटहरी  ।  पूर्वी मोरङका दुई ठुला नगरपालिकाले स्थानीय तहको दोस्रो कार्यकाल सकिन एक वर्षभन्दा कम समयावधि बाँकी रहँदासम्म फोहोर व्यवस्थापनको स्थायी टुङ्गो लगाउन सकेका छैनन् । 

उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निकाल्न नसकेका हुन् । उर्लाबारी नगरपालिकाले उर्लाबारी–५, झुम्रामा बव्रmाहाखोला किनारमा फोहोर डम्पिङ गरिरहेको छ । यता पथरीशनिश्चरे नगरपालिकाले शान्ति सामूदायिक वनको संरक्षण क्षेत्रभित्र फालिरहेको छ । दुवै नगरपालिकाले फोहोर व्यवस्थापनबाट लाखौँ रुपियाँ राजस्व सङ्कलन गरे पनि सुरक्षित डम्पिङ साइटको अभावमा फोहोर जथाभाबी फालिँदा बर्सेनि समस्या जटिल बन्दै गएको छ । बक्राहाखोलाले धार परिवर्तन गरी पूर्वतर्फ कटान हुन थालेपछि उर्लाबारी नगरपालिकाले विसर्जन गर्दै आएको फोहोर बाढीसँगै बगेर उर्लाबारी–८ र रतुवामाई–१० का किसानका खेतमा पुग्ने गरेको छ । यो व्रmम चार वर्षयता नियमित जस्तै छ । ठुलो पानी पर्नासाथ बाढी आउँछ र खोलाको किनारमा कटान हुन्छ । कटान सुरु भएपछि फोहोर बाढीले बगाएर किसानको खेत खेतमा पु¥याउने गर्छ । २०७५ साल अघिसम्म नगरपालिकाले वडा नं। ३ स्थित आफ्नै जग्गामा फोहोर विसर्जन गर्दै आएको थियो तर बक्रहाखोलाले नगरको डम्पिङ साइट बगाएपछि २०७५ साल चैत २१ गतेदेखि नगरले जय श्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको हो । जय श्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिका सञ्चालक नेत्रप्रसाद घिमिरेले भन्नुभयो, “पाँचबर्से सम्झौता सकिनुअघि नै वैकल्पिक व्यवस्था गर्न नगरपालिकालाई जानकारी गराएको थिएँ । नगरपालिकाले नयाँ ठेक्का आह्वान पनि गरिसक्यो । कोही ठेक्का हाल्न आउँदैनन् । पाँचबर्से सम्झौता २०८० चैत १९ गते सकिएयता नगरपालिकाले म्याद थप्दै काम लगाइरहेको घिमिरेले जानकारी दिनुभयो । 

हाल नगरपालिकाका दुई वटा ट्याक्टरले दैनिक १० देखि १३ ट्याक्टर फोहोर खोलाको किनारमा डम्पिङ गर्दै आएको छ । नगरपालिकाका सूचना अधिकारी रोशन ठाकुरका अनुसार नगरपालिकाले सम्झौता सकिनुभन्दा एक वर्षअघि नै ठेक्का आह्वान गरे पनि ठेक्का नपरेको बताउनुभयो । उहाँले गत आवमा पाँच पटक सूचना निकाल्दासमेत कसैले फाराम नभरेको जानकारी दिनुभयो । पथरीशनिश्चरे नगरपालिकामा पनि स्थायी डम्पिङ साइट नहुँदा बर्सौंदेखि शान्ति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा फोहोर विसर्जन हुँदै आएको छ । तीव्र सहरीकरणसँगै नगरबाट दैनिक करिब तीन टन फोहोर उत्पादन हुने गरेको छ । साबिक पथरी गाविसमा सुरु गरिएको डम्पिङस्थलमै अहिले सम्पूर्ण नगरको फोहोर फालिने गरिएको छ । नगरको वातावरण शाखा प्रमुख सुरेन्द्र राईका अनुसार सुरुका दिनमा एउटा ट्याक्टरले फोहोर सङ्कलन गरी डम्पिङ गर्दै आएकोमा हाल आएर दुई वटा टिप्पर र दुई वटा ट्याक्टरले दैनिक फोहोर सङ्कलन गरिरहेको छ । यता शान्ति सामुदायिक वनका उपाध्यक्ष नबराज मिश्रले वैकल्पिक व्यवस्था गर्न पटक पटक आग्रह गरे पनि नगरपालिकाले अटेर गरेको बताउनुभयो । स्थानीयका अनुसार सड्ने, नसड्ने र पुनर्प्रयोग गर्न सकिने फोहोर छुट्याइँदैन । सैलुन र ब्युटीपार्लरका केश, कुखुराका प्वाँख, रक्सीका बोतल, स्लाइनका बोतल र पाइप, अस्पतालजन्य फोहोर, रगत लागेको प्याड, सिसाका टुव्रmा तथा विद्युतीय सामग्रीको फोहोर एउटै ठाउँमा थुपारिने गरिएको छ ।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले चालु वर्षको बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी फोहोर व्यवस्थापन गर्न ५० लाख रुपियाँ विनियोजन गरेको बताउनुभयो । उक्त पैसा खर्च भएन । आगामी आर्थिक वर्षमा बजेट विनियोजन नभएको उहाँको भनाइ छ । नगरपालिकाको राजस्व शाखाका प्रमुख ताराप्रसाद ढकालले आव २०८२÷८३ सकिन तीन दिन बाँकी हुँदा फोहोरबाट ११ लाख ४५ हजार २५२ रुपियाँ सङ्कलन भएको छ ।