इटहरी । सम्झौताअनुसारको गुणस्तरीय फलफूलका बिरुवा तोकिएको समयभित्र उपलब्ध नभएपछि धनकुटाको पाख्रीबास नगरपालिकाले किसानलाई वितरणका लागि गरिएको १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्द गरेको छ।
सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत नगरपालिकाका १० वटै वडामा फलफूल बगैंचा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा किसानलाई बिरुवा वितरण गर्ने योजना थियो। त्यसका लागि नगरपालिकाले रौतहटको चन्द्रपुर–५ स्थित हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग ३८ हजार बिरुवा आपूर्ति गर्ने सम्झौता गरेको थियो। तर आवश्यक परिमाण र गुणस्तरका बिरुवा तोकिएको समयभित्र उपलब्ध नभएपछि सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलका अनुसार आपूर्तिकर्तालाई पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गरिए पनि सम्झौताअनुसार बिरुवा उपलब्ध नभएकाले ठेक्का रद्द गर्नुपरेको हो। यसअघि ल्याइएका बिरुवासमेत तीन दिनभित्र कार्यालय परिसरबाट फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको उनले बताए।
७५ लाख रुपैयाँको विशेष अनुदानमध्ये फलफूलका बिरुवाका लागि २८ लाख रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो। बोलपत्र प्रक्रियाबाट छनोट भएको कम्पनीसँग मूल्य अभिवृद्धि कर ९भ्याट० सहित १४ लाख रुपैयाँमा आँप, लिची, केरा, अम्बा र मेवाका बिरुवा आपूर्ति गर्ने सम्झौता भएको थियो। नगरपालिकाकी कृषि शाखा प्रमुख इन्द्रमाया तामाङले सम्झौताका सर्त पूरा नभएकाले गुणस्तरहीन बिरुवाको भुक्तानी गर्न नसकिने स्पष्ट पारिन्। उनका अनुसार हाल ल्याइएका बिरुवा नगरपालिकाको कार्यालय परिसरमै राखिएको छ र ती बिरुवाको भुक्तानीसमेत नगर्ने निर्णय गरिएको छ। यता, हरिओम हाइटेक कृषि नर्सरी फार्मले भने आफूले सम्झौताअनुसारकै स्वस्थ र मापदण्डअनुरूपका बिरुवा पहिलो खेपमै आपूर्ति गरेको दाबी गरेको छ। कम्पनीका सञ्चालक हरिओम बानियाले नगरपालिकाले बिरुवा समयमै किसानलाई वितरण नगर्दा बिरुवा ओइलिन थालेको र त्यसको जिम्मेवारी आफ्नो नभएको बताए।
उनले सम्झौताअनुसार सबै बिरुवा उपलब्ध गराइसकेको दाबी गर्दै पूरा भुक्तानी पाउनुपर्ने माग गरेका छन्। नगरपालिकाको कृषि शाखाको व्यवस्थापन कमजोरीका कारण आफूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उनको गुनासो छ। फलफूलका बिरुवाका लागि नगरपालिकामा एक हजार एक सय किसानले आवेदन दिएका थिए। विशेष अनुदानअन्तर्गत प्लास्टिक टनेल र पोखरी निर्माणका कार्यक्रम सम्पन्न भइसकेका छन् भने एभोकाडो, कागती, सुन्तला र जुनारका बिरुवा वितरण कार्यक्रम भने सञ्चालन भइसकेको कृषि शाखाले जनाएको छ।


