इटहरी । बिर्तामोड नगरपालिकाले वडा नं। ५ स्थित बुधबारे हटिया क्षेत्रलाई हरियाली सार्वजनिक पार्कका रूपमा विकास गर्ने निर्णय गरेको छ।
नगरसभाबाट पारित निर्णयअनुसार उक्त क्षेत्रमा ‘देवी ग्रिन पार्क’ निर्माण गरिने भएको हो। सार्वजनिक खुला स्थानको अभाव झेलिरहेको बिर्तामोडमा पार्क निर्माणको निर्णयलाई नगरको दीर्घकालीन शहरी योजनासँग जोडेर हेरिएको छ। नगरपालिकाका अनुसार पार्कको नाम जग्गादाता स्वर्गीय देवीप्रसाद प्रसाईंको स्मृतिमा राखिनेछ। पार्क निर्माणको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ भने निर्माण कार्य चाँडै सुरु गर्ने तयारी गरिएको छ। नगरप्रमुख पवित्रा महतारा प्रसाईका अनुसार पार्कलाई हरियाली, विश्राम र सामुदायिक भेटघाटका लागि उपयुक्त सार्वजनिक स्थलका रूपमा विकास गरिनेछ। पार्कभित्र मुक्तिचोकको स्तम्भ, जग्गादाताको स्मृति स्तम्भ, ज्येष्ठ नागरिक चौतारी, बालबालिकाका लागि खेल क्षेत्र, बस्ने तथा विश्राम गर्ने स्थान निर्माण गरिने योजना छ। पार्किङ व्यवस्थासहित धेरै रुख, बिरुवा र हरियालीले सजाइएको खुला क्षेत्र बनाइने नगरपालिकाले जनाएको छ।
बिर्तामोड पछिल्ला वर्षमा तीव्र शहरीकरणतर्फ अघि बढे पनि नागरिकले खुला सार्वजनिक स्थानको अभाव महसुस गर्दै आएका छन्। नगरपालिकाको निर्णयले व्यापारिक संरचना विस्तारभन्दा सार्वजनिक उपयोगका पूर्वाधारलाई प्राथमिकता दिएको संकेत गरेको छ।यसअघि यही स्थानमा नगर विकास कोषको लगानीमा व्यवसायिक बहुउद्देश्यीय भवन निर्माण गर्ने तयारी गरिएको थियो। त्यसका लागि तीन वर्षअघि हटिया क्षेत्रमा रहेका घरटहरा हटाएर जग्गा खाली गरिएको थियो। तर नगर विकास कोषको ऋणभार, सञ्चालनको आर्थिक दायित्व तथा सम्भावित व्यावसायिक जोखिमलाई मूल्याङ्कन गरेपछि नगरपालिकाले भवन निर्माणको योजना अघि नबढाउने निर्णय गरेको हो। वडा नं। ५ का अध्यक्ष रोहित प्रसाईले बिर्तामोडमा व्यवस्थित सार्वजनिक पार्कको आवश्यकता लामो समयदेखि रहेको बताए। उनका अनुसार भीडभाडयुक्त बजार क्षेत्रमा केही समय विश्राम गर्न सकिने खुला स्थानको अभाव रहेको अवस्थामा पार्क निर्माणले नगरवासीलाई प्रत्यक्ष लाभ पुग्नेछ।
बुधबारे हटिया क्षेत्रको इतिहास भने चार दशकभन्दा पुरानो छ। समाजसेवी रामबाबु प्रसाईंले आफ्ना पिता स्वर्गीय देवीप्रसाद प्रसाईंको नाममा करिब १ बिघा ३ कट्ठा जग्गा तत्कालीन अनारमनी गाविसलाई साप्ताहिक हाट सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका थिए। त्यसयता त्यहाँ बुधबारे हटिया सञ्चालन हुँदै आएको थियो भने पछिल्ला करिब १५ वर्षदेखि दैनिक बजारसमेत लाग्दै आएको थियो।२०७१ सालमा नगरपालिकाले बुधबारे बजार व्यवस्थापन समितिमार्फत करिब पाँच कट्ठा क्षेत्रफलमा ७० वटा सटर निर्माण गरी भाडामा सञ्चालन गरेको थियो। त्यसपछि पूर्वतर्फको करिब छ कट्ठा जमिनमा स्थानीय व्यवसायीले आफ्नै लगानीमा ११० भन्दा बढी अस्थायी टहरा निर्माण गरेर व्यापार गर्दै आएका थिए। ती संरचनाहरू हटाउन नगरपालिकाले पटक–पटक सूचना जारी गरेको थियो। व्यवसायीले अटेर गरेपछि तीन वर्षअघि डोजर प्रयोग गरी सबै टहरा हटाइएको थियो। त्यसक्रममा करिब २०० व्यवसायी विस्थापित भएका थिए। विकल्पबिना हटाइएको भन्दै उनीहरूले विरोध जनाएका थिए। पछि तीमध्ये अधिकांशले बिर्तामोडका विभिन्न चार स्थानमा नयाँ बजार स्थापना गरी व्यवसाय सञ्चालन गर्दै आएका छन्।
अब त्यही खाली रहेको जग्गा व्यापारिक भवन होइन, सार्वजनिक हरियाली पार्कमा रूपान्तरण गर्ने नगरपालिकाको निर्णयले बिर्तामोडको शहरी विकासको प्राथमिकता परिवर्तन भएको संकेत गरेको छ। यदि योजना कार्यान्वयनमा पुग्यो भने नगरले लामो समयदेखि अभाव महसुस गरिरहेको सार्वजनिक खुला विश्रामस्थल प्राप्त गर्ने अपेक्षा गरिएको छ।


