इटहरी । स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा आगामी साउन १ देखि ३ गतेसम्म ’हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ सञ्चालन हुने भएको छ ।

सुन्दरहरैंचा–१०, विराटचोक स्थित हिमालय इङ्लिस स्कुलमा हुने तीनदिने क्याम्पबारे बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचाका स्थानीय स्काउट प्रमुख आयुक्त मनिज लामा कार्कीले स्काउट अभियानले अनुशासन र इमान्दारिता सिकाउँदै असल नागरिक निर्माणमा सघाउने बताउनुभयो। त्यस्तै, हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले क्याम्पमा स्काउट ड्रिल, प्राथमिक उपचार र विपद् व्यवस्थापन जस्ता व्यवहारिक सीप सिकाइने जानकारी दिनुभयो।

हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले विद्यालयले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको बताउनुभयो।

अनुभवी प्रशिक्षकहरू रहने यस क्याम्पमा ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ। क्याम्पले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मनिर्भरता र सामूहिक सहकार्यको भावना विकास गर्ने विश्वास आयोजकले लिएको छ ।