इटहरी । कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेस बीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।
२०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमाले बीच सत्ता गठबन्धन भएको थियो । सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भईरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न लागेको हो ।
नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय भएकाले तत्कालै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले राजिनामा नदिने भएका छन् । कांग्रेस कोशी प्रदेशका सभापति एवम् संसदीय दलका नेता उद्धव थापाले एमाले संगको गठबन्धन अन्त्य भईसकेको भएपनि नयाँ सरकार गठनका लागि एमाले, नेकपा र अन्य दल संग विकल्पबारे छलफल गरिने जानकारी दिनुभयो ।
कोशीका आर्थिक मामिला तथा योजना मन्त्री एवम् एमालेका नेता विदुर कुमार लिङ्थेपले २०८१ साल असारमा कांग्रेससंगको सहमति अनुसार आलोपालो गर्न आफुहरु तयार रहेको भएपनि केन्द्रको निर्र्णाअनुसार नै अघि बढ्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
९२ सदस्यीय कोशी प्रदेश सभामा एमालेको उपसभामुख सहित ४०, नेपाली कांग्रेसको २९, नेकपाको १७, राप्रपाको सभामुख सहित ५ र जनता समाजवादी पार्टीका एक जना प्रदेश सांसद रहेका छन् । सरकार गठनका लागि कोशी प्रदेशमा ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ ।


