इटहरी। झापाका स्थानीय तहमध्ये सबैभन्दा बढी रकमको बेरुजु देखिएको मेचीनगर नगरपालिकाले बेरुजु फछ्र्योटका लागि सम्बन्धित व्यक्ति तथा संस्थालाई ३५ दिनभित्र रकम दाखिला गर्न वा प्रमाणसहित फछ्र्योट गर्न निर्देशन दिएको छ।

तोकिएको अवधिभित्र बेरुजु फछ्र्योट नगरे सरकारी बाँकीसरह जायजेथाबाट असुल गरिने नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लगतमा नाम उल्लेख भएका व्यक्ति, संघ–संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालालाई ३५ दिनभित्र आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा उपस्थित भई बेरुजु रकम दाखिला गर्न वा फछ्र्योटको प्रमाण पेस गर्न आग्रह गरेका छन्।

सूचनाअनुसार नियमित प्रक्रियाबाट फछ्र्योट नभएका बेरुजु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७ र ४८ बमोजिम सरकारी बाँकीका रूपमा कायम रहने र त्यसपछि सम्बन्धित व्यक्तिको जायजेथाबाट असुल गरिनेछ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकामा ३।१९ प्रतिशत अर्थात् १४ करोड ९९ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ। रकमका आधारमा यो झापाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु हो।

यद्यपि प्रतिशतका आधारमा भने झापामा सबैभन्दा बढी बेरुजु बिर्तामोड नगरपालिकामा देखिएको छ। प्रतिवेदनअनुसार बिर्तामोडमा परीक्षण गरिएको ३ अर्ब ३४ करोड ६० हजार रुपैयाँमध्ये ३।२२ प्रतिशत अर्थात् १० करोड ७४ लाख २३ हजार रुपैयाँ बेरुजु कायम भएको छ।