इटहरी । सुनसरी र झापामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ आइतबारेमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले राति छापा मारेको थियो। खोजतलासका क्रममा बराहक्षेत्र–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीको साथबाट १।६७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

यस्तै, झापाको कचनकवल गाउँपालिका–४ हरियाली झोडामा इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायब निरीक्षक प्रकाशकुमार कार्कीको नेतृत्वमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनामाथि जाँच गर्दा कालो प्लास्टिकमा लुकाएर ल्याइएको १ ग्राम ब्राउन सुगर बरामद गरेको छ। प्रहरीले कचनकवल–२ संगित चोकका ३२ वर्षीय विशाल गाईने र २३ वर्षीय सिद्धार्थ गाईनेलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केचनामा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।