इटहरी । होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवालाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले इटहरीमा सञ्चालन भइरहेको २१ दिने निःशुल्क बारिस्टा तालिम प्रभावकारी रूपमा अघि बढिरहेको छ ।
नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा असार १४ गतेदेखि सुरु भएको उक्त तालिम साउन ८ गतेसम्म सञ्चालन हुनेछ। सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले दुई चरणमा सञ्चालन गरिरहेको तालिममा ३० जना युवाको सहभागिता रहेको छ । तालिममा सहभागीहरूले कफी तयारी, बारिस्टा सीप, ग्राहक सेवा तथा कफी व्यवसाय सञ्चालन सम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गरिरहेका छन् । अनुभवी प्रशिक्षक मार्फत सञ्चालन भइरहेको तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई विशेष प्राथमिकता दिइएको छ । सहभागीहरूले निःशुल्क रूपमा अन्तर्राष्ट्रिय स्तरको बारिस्टा सीप सिक्ने अवसर पाएको बताउँदै यसले भविष्यमा क्याफे, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा रोजगारी प्राप्त गर्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा एडभान्स स्तरको बारिस्टा तालिम समेत सञ्चालन गर्न आग्रह गरेका छन्।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरीले पछिल्लो समय युवापुस्तामा कफी संस्कृति प्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको र देशभर कफी सपहरूको विस्तार भइरहेकाले दक्ष बारिस्टाको माग पनि निरन्तर बढिरहेको बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनसँगै युवालाई सीपमूलक तालिम मार्फत रोजगारी तथा स्वरोजगार सँग जोड्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
संघले तालिममा सहभागी सबैलाई टी–सर्ट समेत वितरण गरेको छ । यसैबीच, तालिमको प्रगति, सिकाइको अवस्था तथा प्रशिक्षणको प्रभावकारिताबारे जानकारी लिन जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारीहरूले प्रशिक्षणस्थलको अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनीहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै तालिमको गुणस्तर, सिकाइको स्तर तथा आगामी आवश्यकताबारे सुझाव र प्रतिक्रिया संकलन गरेका थिए ।

