इटहरी । काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको छ।
विश्व आदर्श कलेजको ला. भा. तथा एस. क्यु. सि. ग्रुपको आयोजनामा आगामी आइतबार र सोमबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई-दुई शो प्रस्तुत गरिनेछ। काठमाडौंमा भएको मञ्चनमा चर्चित अभिनेत्री रिचा शर्मा, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, साहित्यकार सुरज सुबेदी लगायत साहित्य, कला र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नाटकले दर्शकबाट समेत अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरी उल्लेखनीय चर्चा बटुलेको थियो। विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालका अनुसार, नाटकका अधिकांश कलाकार, लेखक सुगम दुलाल र निर्देशक प्रजल दुलाल लामो समय इटहरीमा ‘कलालय इटहरी’ मार्फत सक्रिय रङकर्ममा आबद्ध रहेकाले आफ्नै भूमिमा यो नाटक मञ्चन गर्नु विशेष अर्थपूर्ण छ। स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभाको प्रस्फुटन गराउने तथा इटहरीको रङ्गमञ्चलाई थप जीवन्त बनाउने उद्देश्यले सम्पूर्ण नाट्य टोलीलाई इटहरी आमन्त्रण गरिएको उनले बताए।
‘पापशाला’ विश्वप्रसिद्ध फ्रान्सेली अस्तित्ववादी दार्शनिक जाँ–पल सार्त्रको चर्चित नाटक ‘No Exit’ को नेपाली रूपान्तरण हो। नेपाली परिवेश, पात्र र समाजको मनोविज्ञानलाई केन्द्रमा राखेर गरिएको यस रूपान्तरणले मौलिक स्वाद प्रदान गरेको लेखक सुगम दुलाल बताउँछन्। उनका अनुसार, नाटक तीन जना मृत व्यक्तिहरू एउटै बन्द कोठामा सँगै थुनिएको अवस्थाबाट सुरु हुन्छ। समयसँगै उनीहरूले आफूहरूको सबैभन्दा ठूलो यातना कुनै शारीरिक पीडा नभई एक–अर्काको उपस्थितिमै रहेको अनुभूति गर्छन्। यही मनोवैज्ञानिक द्वन्द्व र अस्तित्वको खोज नै नाटकको मुख्य कथावस्तु हो। निर्देशक प्रजल दुलालका अनुसार, नेपाली परिवेशमा ढालिएको यो प्रस्तुतीकरणले दर्शकलाई कथा सहज रूपमा आत्मसात् गर्न मद्दत गर्नेछ। नाटकले मानिसको स्वतन्त्रता, जिम्मेवारी, आत्मपहिचान र अरूको दृष्टिले हाम्रो अस्तित्व कसरी परिभाषित हुन्छ भन्ने गहिरो अस्तित्ववादी प्रश्न उठाएको उनले बताए। काठमाडौंमा सफल मञ्चनपछि आफ्नै रङकर्मको थलो इटहरीमा दर्शकमाझ उभिन पाउँदा सम्पूर्ण नाट्य टोली उत्साहित रहेको लेखक सुगम दुलाल र निर्देशक प्रजल दुलालले बताएका छन्।
नाटकका कलाकार, लेखक र निर्देशकले इटहरीका कला, साहित्य र नाटकप्रेमी, पत्रकार, व्यवसायी, अभियन्ता तथा सम्पूर्ण नगरवासीलाई नाटक हेर्न निम्तो समेत दिएका छन। नाटकमा अबिन ठटाल, लुमन्ती महर्जन, सुगम दुलाल र प्रजल दुलालको अभिनय रहेको छ। संगीत संगीत विश्वकर्माको, गायन सुरभी प्याकुरेलको रहेको छ। कार्भिका पोखरेलको सिर्जनात्मक निर्देशनमा तयार भएको यस नाटकलाई सुगम दुलालले नेपाली रूपान्तरण गरेका हुन् भने निर्देशन प्रजल दुलालले गरेका छन्। यसैबीच, नाट्य टोली हिजो नै इटहरी आइपुगेको छ। आज भने सम्पूर्ण कलाकार तथा प्राविधिक टोली अन्तिम रिहर्सल र मञ्चीय तयारीमा व्यस्त रहेको छ। काठमाडौंमा दर्शकको मन जित्न सफल ‘पापशाला’ ले इटहरीमा पनि उत्तिकै प्रभावशाली प्रस्तुति दिने अपेक्षा गरिएको छ।


