इटहरी । अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको वर्षाका कारण फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो जाँदा सडक र विद्युत अवरुद्ध बनेको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार सडकभन्दा माथिबाट झरेको पहिरो ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । फुरुम्बुस्थित आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने ग्रामीण सडक पहिरोका कारण अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात सेवा ठप्प भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
पहिरोले सडकसँगै विद्युत सेवा पनि अवरुद्ध भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो र पहिरोका कारण ढलेको रुखले बिजुलीको खम्बा साथै प्रसारण लाइनको तारमा क्षति पुग्दा विद्युत सेवा अवरुद्ध भएको हो । पहिरोले विद्युतको खम्बा र तारमा क्षति गरेका कारण फुरुम्बु क्षेत्रमा शुक्रबार रातिदेखि नै विद्युत सेवा ठप्प बनेको छ ।
विद्युत अवरुद्ध बनेपछि इन्टरेटसहित विद्युतीय सुविधा र उत्पादनहरु ठप्प भएका स्थानीयले बताएका छन् । यता पहिरोले यातायात र विद्युत सेवा अवरुद्ध बनाएपछि पुनः सञ्चालन गर्न पहल भइरहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । सडक खुलाउन र विद्युत सेवा नियमित गर्नका लागि शनिबार बिहानैदेखि आवश्यक समन्वय र पहल गरिरहेको उहाँको भनाइ छ ।


