इटहरी । कोशी प्रदेशमा यस वर्ष समयमै मनसुन सक्रिय भएसँगै धान रोपाइँ उत्साहजनक रूपमा अघि बढे पनि जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन्।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म धान रोप्न योग्य क्षेत्रफलमध्ये ५४ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा करिब दुई प्रतिशत बढी हो। समयमै वर्षा भएकाले बाँकी क्षेत्रमा पनि रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको खाद्य सुरक्षा महाशाखाका प्रमुख प्रकाश मरासिनीले पछिल्ला वर्षहरूमा धान भित्र्याउने समयमा हुने असमयको वर्षाका कारण किसानले उत्पादन र गुणस्तर दुवैमा क्षति व्यहोर्नुपरेको बताउनुभयो। काटेर खेतमा सुकाउन राखिएको धानमा वर्षा हुँदा खाद्यान्न उत्पादनमा प्रत्यक्ष असर पर्ने उहाँको भनाइ छ।

वरिष्ठ कृषि विज्ञसमेत रहनुभएका मरासिनीका अनुसार रासायनिक मलको बढ्दो प्रयोग, मौसममा आएको अनिश्चितता तथा प्राकृतिक विपद्का कारण खाद्य सुरक्षाको जोखिम क्रमशः बढ्दै गएको छ। विश्वव्यापी जलवायु परिवर्तनको प्रभावबाट कोशी प्रदेश पनि अछुतो नरहेको उहाँले उल्लेख गर्नुभयो। प्रदेशमा ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहेकामा २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको मन्त्रालयको तथ्याङ्क छ। मरासिनीले बदलिँदो मौसमअनुकूल धानका जातको प्रयोग बढाउन तथा कृषि मौसम बुलेटिन र मौसम पूर्वानुमानलाई आधार बनाएर खेती गर्न किसानलाई आग्रह गर्नुभयो।

सरकारले बाली बीमा कार्यक्रमलाई प्राथमिकतामा राखे पनि पर्याप्त बजेट अभावका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो। धान बाली बीमा कार्यक्रम विस्तार गर्न आवश्यक स्रोत सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।