इटहरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा शनिबार ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न भएको छ।
पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रम ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। साइक्लिङमार्फत प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो तथा वातावरणमैत्री पर्यटन विकासमा टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष किशन मास्केले बताए।
बिहान ७ बजे धरानको भानुचोकबाट सुरु भएको राइड भोटेपुल, धनकुटे रोड, बुद्धचोक, घोपा गेट, डिपो स्कुल लाइन, इन्द्रेणी चोक, रेल्वे चोक, रत्नचोक, मङ्गलबारे, वैष्णोदेवी मन्दिर, धरान रङ्गशाला, जानकी चोक, जिरो प्वाइन्ट, फुस्रे सैनिक स्कुल, विजयपुर चोक, पञ्चकन्या पथ, बुढासुब्बा मन्दिर चोक, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, आदर्श चोक, भिन्टेज फेमिली रिसोर्ट, तल्लो देउराली चोक हुँदै धरान–धनकुटा राजमार्गअन्तर्गत चारकोसे जङ्गल र तिनकुने क्षेत्र पार गरी धरान–८ स्थित लाङ्घाली सामुदायिक पार्कमा पुगेर समापन भएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन मन्त्री भीम पराजुलीले ‘कोरा राइड’ जस्ता कार्यक्रमले प्रदेशको पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे। उनले प्रदेशका धार्मिक, सांस्कृतिक तथा स्थानीय पर्यटकीय गन्तव्यको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले पर्यटन क्षेत्रलाई मात्र नभई नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए।
क्लबका अध्यक्ष मास्केका अनुसार ३० किलोमिटर दूरीको राइडमा सुनसरीको धरान, तरहरा, मोरङको पथरी तथा झापा लगायतका विभिन्न स्थानबाट ३०० भन्दा बढी राइडर्स सहभागी भएका थिए।


