इटहरी ।  मोरङको लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लेटाङ–४ निवासी जितेन राईका १२ वर्षीय छोरा साबेहाङ राई रहेका छन्। शुक्रबार साथीहरूसँग नहरमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए।

नहरमा डुबेर अचेत भएका साबेहाङलाई स्थानीय र प्रहरीले उद्धार गरी शुक्रबार दिउँसो करिब ३ः३० बजे उपचारका लागि लेटाङ नगर अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा अपराह्न करिब ४ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट इन्स्पेक्टर सागर साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।  गर्मीका कारण नदी, खोला र नहरमा पौडी खेल्ने क्रम बढिरहेका बेला भएको यस घटनाले अभिभावकलाई बालबालिकाको सुरक्षाप्रति थप सचेत रहनुपर्ने आवश्यकता औँल्याएको छ।