इटहरी । झापाको बिर्तामोडस्थित एक होटलबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ करिब ५ बजे बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलको कोठा नम्बर ४०४ मा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले छापा मारेको थियो।
छापाका क्रममा होटलको कोठामा बसिरहेका भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामथान पञ्चायतका ३४ वर्षीय कमल बर्मनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको साथबाट प्लास्टिकसहित ३३ ग्राम ५७० मिलिग्राम र प्लास्टिक हटाउँदा ३१ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित बर्मनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर लागूऔषध कारोबारको सञ्जाल र संलग्न अन्य व्यक्तिबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


