इटहरी । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले दक्ष, प्रेरित र समय अनुकूल शिक्षक नै गुणस्तरीय शिक्षाको वास्तविक आधार भएको मान्यता सहित शिक्षकको क्षमता अभिवृद्धिमा निरन्तर लगानी गरिरहेको छ।
यसै क्रममा विद्यालयले सम्पूर्ण शिक्षक–शिक्षिकाको सक्रिय सहभागितामा ’शिक्षक अभिमुखीकरण कार्यक्रम–२०८३’ सञ्चालन गरेको छ। कार्यक्रमका मुख्य प्रशिक्षक, शिक्षा तथा व्यक्तित्व विकास प्रशिक्षक टोम गौतमले बदलिँदो समयसँगै शिक्षकले आफ्नो ज्ञान र शैली परिष्कृत गर्नुपर्नेमा जोड दिँदै विद्यार्थी–केन्द्रित शिक्षण, प्रभावकारी कक्षाकोठा व्यवस्थापन, सकारात्मक अनुशासन र आधुनिक प्रविधिबारे व्यावहारिक प्रशिक्षण दिनुभएको छ।
विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईका अनुसार विद्यार्थीलाई उत्कृष्ट, प्रविधिमैत्री र व्यवहारिक शिक्षा दिन शिक्षकलाई सक्षम र आत्मविश्वासी बनाउने यस अभियानलाई पहिलो प्राथमिकतामा राखिएको हो। यस्तै, विद्यालयका अध्यक्ष मोहन प्रसाद ढकालले शिक्षक माथि गरिएको लगानीको सकारात्मक प्रभाव विद्यार्थीहरूको सिकाइ उपलब्धि, अनुशासन र नतिजामा स्पष्ट रूपमा देखिन थालेको र यसबाट अभिभावकहरू समेत उत्साहित भएको बताउनुभएको छ।
शिक्षकलाई राष्ट्र निर्माणका अभियन्ताका रूपमा सम्मान गर्दै सञ्चालित यो महत्वपूर्ण कार्यक्रमले शिक्षकहरूलाई अझ सक्षम, सिर्जनशील र परिणाममुखी बनाई विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा तथा समग्र शैक्षिक स्तर सुधार्न ठूलो योगदान पु¥याउने विश्वास विद्यालयले लिएको छ ।


