इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण कार्यमा अपेक्षित प्रगति नभएको भन्दै दुई वटा सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको बारेमा जानकारी दिएको हो ।
मामाङ्खे–संग्राहलय–हुडाई–तुम्बिम्बा–थावाबुक–याम्फुदिन–कञ्चनजङ्घा आधार शिविर जाने सडक निर्माण योजना र सिरिजङ्घा गाउँपालिकाको केन्द्रदेखि थुम्मा–नागदेवा–हुडाई–फुन्द्रुवा–याङपाङ सम्मको सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरिएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा। चित्र माबोले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले पटकपटक मौखिक तथा लिखित निर्देशन दिँदा पनि निर्माण व्यवसायीले कार्यप्रगतिमा सुधार नगरेको, सन्तोषजनक कार्यसम्पादन हुन नसकेको तथा निर्माण कार्य सम्पन्न गर्नेतर्फ आवश्यक पहल नदेखाएकाले योजना अन्त्य गरिएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौतामा उल्लेखित व्यवस्थाअनुसार गाउँ कार्यपालिकाको निर्णयबाट ठेक्का अन्त्य गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई समेट ठेक्का सम्झौता अन्त्यको जानकारी दिइसकेको छ ।


