इटहरी। विराटनगर भन्सार कार्यालयपरिसरमा जाँचपासपछि गन्तव्यतर्फ लागेको भारतीय मालवाहक ट्रकलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा बल रानीले पाँच दिनअगाडि नियन्त्रणमा लियो । जाँचपास भइसकेको ट्रकमा कैफियत रहेको सूचना पाएपछि त्यसको अन्तिम परीक्षण गर्न पुनः भन्सार कार्यालयमा बुझाइयो ।
यसअघि भन्सार जाँचपासपछि कुनै सवारीमा कैफियत भएमा राजस्व एकाइले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया बढाउँथ्यो । अहिले कैफियत रहेमा भन्सार कार्यालयमै फर्काउने गरिएको हो । भारतीय नम्बर बिआर ०१६ ए ३३४७ भएको ट्रक भन्सार कार्यालयमा लगेर अनुसन्धान गर्दा कपडाको प्रज्ञापनपत्रमा जुत्ताचप्पल, चस्मा र ब्युटीपार्लरसमेतका सामान फेला परेका थिए । प्रज्ञापनपत्रमा उल्लेखबाहेकका वस्तुको जाँचपास भएन अर्थात् भन्सारकै बाटो भएर अवैध कारोबार भएको पुष्टि भएको छ । विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी विमलदेव साहले उक्त ट्रक भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले अन्तिम प्रतिवेदन आउन बाँकी रहे पनि जाँचपासमा त्रुटि देखिएको स्विकार्नुभयो ।
नियन्त्रणपछि भन्सार कार्यालयमा फर्काएर गरिएको जाँचपासपछिको परीक्षणमा २७ प्रकारका सामान फेला परेका थिए । उक्त मालवाहक सवारीमा भन्सार एजेन्ट प्रतिनिधिसमेत रही मालवस्तु पैठारी गर्दै आउनुभएका अकबर अली भन्सार एजेन्ट भरत भट्टराईको क्लिरिङ कम्पनीका प्रतिनिधिसमेत हुनुहुन्छ । २९२ नम्बर एजेन्ट नम्बरबाट जाँचपास गर्दा अली आफैँ सहभागी हुनुभएको खुलेको छ । आफैँ जाँचपास सहजीकरण गर्ने एजेन्टको प्रतिनिधि आफैँ कारोबारी भएपछि त्यहाँ भन्सार प्रशासनको समेत मिलेमतो आशङ्का गरिएको छ । यस विषयमा भन्सारका अधिकारीले केही बताउन चाहेका छैनन् । सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको गाडीबाट सुज अपर–१९० थान, सुज इन्सोल–३१ केजी, ननपेटल ड्रिलिङ मेसिन–३ थान फेला परेका थिए । जुत्ताचप्पलका कच्चाको भन्सार जाँचपास भएको देखिएन ।
त्यस्तै ननपेटल ड्रिलिङ मेसिन–३ थान, अब्लोङ फेस मिरर फर आइचेक–८ थान, पावर डिटेक्सन एसोसेरिज–६ थान, लेन्स क्लिनर–२५० प्याकेट ९२० एमएल०, लेजर पोइन्टर–२४ थान, आई ब्यान्डेज–७ थान, टियर टेस्टस्ट्रिप्स–४ थान, स्क्रुप्पड्राई फर गुगल–४० थान, रबर गुगल पार्ट–२ प्याकेट भेटिएको थियो । यी आँखासँग सम्बन्धित सामग्री हुन् । त्यसबाहेक ब्युटीपार्लरमा प्रयोग हुने एसएस फेस क्लिनर–४० थान, इन्भिजी–२० थान नोभावाक्स हिटर–२० थान, एरोनावाक्स हिटर–२४ थानसमेत फेला परेको थियो । त्यसबाहेक पनि मेकअप फिक्चर स्प्रे–३५ थान, मेकमी साइन–२१ थान, मेनिक्यु क्ले–१२ थान, टोय टिप्स क्लियर ११ प्याकेट ९५५०० थान० चार केजी, फाउन्डेसन मेकअप ब्रस–२५० थान, बोल्ट बी–१२ प्याकेट, मेकअफ टेप–७ थान, पेडीक्युर एसोसेरिज–१२ थान, लेमिटेसन ज्वेलर्स–१ केजीसहित माछाको तेल, चारो, छडीसमेत बरामद भएको थियो ।
भन्सारमा पुनः परीक्षणपछि सामानको मुचुल्का उठाइए पनि जाँचपासमा संलग्न कर्मचारीको विषयमा अहिलेसम्म प्रशासन मौन रहेको छ । यता आयातकर्तासमेत रहनुभएका भन्सार एजेन्टका प्रतिनिधि अलीले भने कुनै कैफियत नभएको र यसैलाई कैफियत मान्ने हो भने प्रत्येक गाडीमा त्रुटि भेटिने दाबी गर्नुभयो ।


