इटहरी । अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिम बढेपछि पाँचथर र इलाम जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएका छन्।

जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मानेर दुवै जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै रातिको यात्राबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका हुन्। पाँचथर जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म जिल्लाभित्रका मुख्य तथा भित्री सडकमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल ले जारी गरेको सूचनाअनुसार मेची राजमार्ग, तमोर करिडोर, पुष्पलाल ९मध्यपहाडी० राजमार्ग, फिदिम–फालोट, राँके–रवि तथा जोरसाल–मेमेङ सडक लगायतका मार्गमा रातिको आवागमन रोकिएको हो।

स्थानीय तहहरूले आवश्यकता अनुसार आफ्नो क्षेत्रभित्रका अन्य सडकमा समेत सवारी सञ्चालन रोक्न सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ। यस्तै, इलाम जिल्ला प्रशासन कार्यालयले पनि साउन २ र ३ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोरसहित जिल्लाका सबै सडकमा रातिको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको हो।

प्रशासनले आकस्मिक बाढी आउन सक्ने खोला, खोल्सा तथा नदी आसपासका क्षेत्रमा नजान, पहिरोको जोखिम भएका सडक प्रयोग नगर्न तथा नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै जोखिमयुक्त सडकमा डोजर, एक्साभेटरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा उद्धार र प्रतिकार्यमा संलग्न सबै निकायबीच समन्वय प्रभावकारी बनाउन प्रशासनले निर्देशन दिएको छ। आवश्यक परे विपद् सहायता नम्बर ११४५, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४ तथा नेपाली सेनाको सम्पर्क नम्बरमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

कोशी प्रदेशसहित देशका विभिन्न पहाडी तथा तराई क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम विभागको पूर्वानुमानपछि सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वसतर्कतास्वरूप रातिको सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न र सरकारी सूचनाको पालना गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ।