इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ लाई जोड्ने सुनझोडा खोलामा निर्माण गरिएको मोटरेबल पुल शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व संघीय सांसद डा. सुनिलकुमार शर्माले स्थानीय जनप्रतिनिधिहरू सँगै रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो। कार्की बन्धु कन्ट्रक्सन प्रालिले करिब ५ करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण गरेको ३० मिटर लामो सो पुलको शिलान्यास गत वर्ष २०८२ जेठमा गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सांसद डा. शर्माले आफ्नो बाल्यकालको स्मरण गर्दै जनताको आवश्यकता अनुसार विकास निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो।

साथै उहाँले आफ्नो कार्यकालमा पथरी खानेपानीका दुई ओभरहेड ट्याङ्कीका लागि ३५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको जानकारी दिनुभयो। कार्यक्रममा पथरी शनिश्चरे–२ का वडाध्यक्ष नैना साम्पाङ राईले पुलले कृषि, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने बताउँदै कालापानी–कसेनी क्षेत्रका सडक कालोपत्रे भइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा उर्लाबारी–३ का वडाध्यक्ष भीष्म बुढाथोकी, नेपाली कांग्रेसका नेता बसन्त भट्टराई, नगर सभापति रूपनारायण भट्टराई, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। पुल सञ्चालनसँगै दुवै पालिकाबीचको आवतजावत थप सहज हुने विश्वास लिइएको छ।