इटहरी। मेची राजमार्गको माइखोलास्थित राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि १२ दिन यता इलामका किसानहरुले दैनिक उत्पादन भएको दुध बिक्री गर्न पाएका छैनन् । 

इलामको विल्याँटेमा रहेको दुुग्ध विकास संस्थानको दुुग्ध चिस्यान केन्द्रमा संकलन भएको दुध गएको असार २३ गतेदेखि विराटनगर जान सकेको छैन । दैनिक एक हजार लिटर दुध संकलन हुने केन्द्रमा अहिलेसम्म तीन हजार छसय लिटर दुध थन्किएको छ । चिस्यान केन्द्रमा रहेको दुध धेरै दिन बितिसक्दा विराटनगरबाट दुध बोक्ने ट्याङ्कर आउने अवस्था नभएपछि समस्या भएको चिस्यान केन्द्रका प्रमुख मन्टुुकुुमार ठाकुुरले बताउनुुभयो । चिस्यान केन्द्रमा रहेको दुधलाई इलाम उद्योग वाणिज्य संघको पहलमा साना गाडीमार्फत पठाउन लागिएको छ । 

धारापानी, जसवीरे, तालगाउँ, भाइभगवतीलगायत १४ वटा सहकारी संस्थाबाट संकलन हुनेगरेको थियो । प्रतिलिटर ६५ रुपियाँ ५६ पैसाका दरले  किसानले दुुग्ध विकास संस्थान डिडिसीलाई दुध बिक्री गर्दैआएका थिए । तर राजमार्गअवरुद्ध भएपछि १२ दिन यता किसानहरुले दुध बिक्री गर्न नपाएको वाणिज्य संघ अध्यक्ष पौड्यालले जानकारी दिनुुभयो । 

राजमार्ग सहज नहुुन्जेल विराटनगरबाट आयोजनाको दुध बोक्ने ट्याङ्कर आउन नसक्ने अवस्था रहेको चिस्यान केन्द्रका प्रमुख ठाकुरको भनाइ छ ।