इटहरी। पाँचथरको फिदिम नगरपालिका –७ का जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल ९बाँस्कोटा० ले आफ्नो जन्मदिनको अवसरमा पञ्चकन्या आधारभूत विद्यालय, माक्लुम्वाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

आइतबार आयोजित कार्यक्रममा उहाँले २५ जना विद्यार्थीलाई टाइ, बेल्ट तथा स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभयो । शिक्षा क्षेत्रमा बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको वडा सदस्य दुलालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका –७ का वडा सदस्य बलबहादुर राई वडा सदस्य प्रदीप बाँस्कोटासहित शिक्षक अविभावक र विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि राई, वडा सदस्य बाँस्कोटा, समाजसेवी वीरेन्द्र बाँस्कोटा तथा विद्यालयका शिक्षक टीकाबहादुर नेम्बाङ लगायतले शुभकामना मन्तव्य राख्नुभयो । वडा सदस्य दुलालले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै हरेक वर्ष सहयोग कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । उहाँले पदमा रहुञ्जेल प्रत्येक वर्ष जन्मदिनको अवसरमा असहाय, विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा गरिब बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धताअनुसार ‘बालबालिका तथा ज्येष्ठ नागरिकसँग महिला वडा सदस्य’ कार्यक्रम सञ्चालन गर्दै आउनुभएको बताउनुभयो ।

यसअघि उहाँले आधारभूत स्वास्थ्य केन्द्र नाडलपालाई फलामे कुर्सी उपलब्ध गराउनुका साथै फिदिम–२ साम्दिनस्थित ज्येष्ठ नागरिक आश्रमका आश्रितलाई कपडा तथा फलफूल वितरण गर्नुभएको थियो । त्यसैगरी २०८० सालमा अभिभावकविहीन फिदिम –४ माझिटारकी एक छात्रालाई अध्ययनका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुभएको प्रधानाध्यापक रामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । वडा सदस्य दुलालले २०७९ सालमा निर्वाचित भएपछि आफ्नो व्यक्तिगत जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विभिन्न क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्दैआएको बताउनुभयो ।